पूर्वएमालेका यी सांसदले बिक्री गरे काठमाडौंका जनताको विश्वास

काठमाडौं । नेपाली कांग्रेसका सञ्जयकुमार गौतमसँग गृहजिल्ला बर्दियामा नराम्रोसँग पराजित भएका नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता वामदेव गौतमको निवास भैँसेपाटीमा खुसीयाली छाएको छ ।

तत्कालीन एमालेबाट काठमाडौं क्षेत्र नम्बर ७ बाट निर्वाचित सांसद रामवीर मानन्धरले पदबाट राजीनामा दिएसँगै गौतमको ललितपुरको भैँसेपाटीस्थित निवासमा मंगलबार खुसीयाली छाएको हो । गौतम निवास भैँसेपाटी पुगेका नेकपाका नेता, कार्यकर्ता र शुभेच्छुकहरूले मध्यरातसम्म शुभकामना दिएका छन् ।

काठमाडौं क्षेत्र नं. ७ का मतादाताहरूको मतको अपमान गर्दै बर्दियाबाट पराजित गौतमलाई उम्मेदवार बनाउन मानन्धरले मंगलबार पत्रकार सम्मेलन गरेर सांसदस पदबाट राजीनामा दिएका छन् । मानन्धरले गौतमलाई आफूले जसरी पनि जिताएर देखाउने दाबी गरेका छन् ।

मंगलबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा विकासका लागि आफूले सांसद पद छोडन लागेको बताए । वामदेव गौतमले काठमाडौं ७ बाट जित्ने आधार के छ ? भनेर सोधेको प्रश्नको जवाफमा मानन्धरले भने, ‘त्यहाँ हाम्रो पार्टीको संगठन छ । म उहाँलाई जिताउन लाग्छु ।’

मानन्धरले गौतमलाई जिताउन घरघर पुग्ने बताए । ‘घरघरमा गएर जनातालाई सम्झाउँछु । पार्टी संगठनलाई सम्झाउँछु । वामदेव गौतमलाई मतदान गर्न आग्रह गर्छु’, उनले भने, ‘हार्ने सम्भावनै छैन । काठमाडौं ७ मा वामदेवको जित सुनिश्चित छ ।’

पूर्वएमालेका सांसद मानन्धरले पार्टी नछोडेर सांसद पदमात्र सम्मानित नेता गौतमका लागि दिएको बताए । ‘मैले पार्टी छोडेको छैन । म विकासका लागि अघि बढेको छु’, उनले भने, ‘जनताको अपेक्षा विकास निर्माण हो । त्यसका लागि स्थिरता चाहिन्छ । देश बनाउने आधारका लागि मान्छेको खोजी हुन्छ । त्यसैले पद छोडन लागेको हुँ ।’

‘मेरो राजीनामापछि विकास निर्माणको निश्चित हुन्छ । वामदेव गौतमको इतिहास हेर्नुहोस् । धेरै ठाउँमा हारेको मात्र कुरा नगरौँ जितेको कुरा पनि गरौँ’, मानन्धरले भने, ‘मलाई कसैले प्रस्ताव गरेको होइन । मैले आफैँ प्रस्ताव गरेको हुँ ।’

उनले निर्वाचन क्षेत्र छोड्न कुनै लेनदेन नभएको समेत प्रष्ट पारे । ‘पार्टीका लागि योगदान गरेको हुँ’, पत्रकारको प्रश्नको जवाफ दिँदै मानन्धरले भने, ‘केही लेनदेन छैन ।’

मानन्धरलाई राष्ट्रिय सभामा मनोनीत गर्ने आश्वासन दिइएको छ । मानन्धरलाई मन्त्री बनाउने आश्वासन पनि गौतमले दिएका छन् ।

काठमाडौंको बालाजुस्थित अष्टनारायण चलचित्र मन्दिरका मालिकसमेत रहेका मानन्धर तत्कालीन महिला बालबालिका तथा समाज कल्याणमन्त्री तथा राप्रपा नेता विक्रमबहादुर थापालाई पराजित गर्दै प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए ।

Published : Tuesday, 2018 October 9, 8:48 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया