उप–निर्वाचन अगाडि यी फुच्चे नेतासँग भिड्दै वामदेव, भैँसेपाटीमा खैलाबैला

काठमाडौं । प्रतिनिधि सभा निर्वाचनमा कांग्रेससँग नराम्रोसँग पराजित भएका नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सचिवालय सदस्य वामदेव गौतमले काठमाडौं ७ बाट उप–निर्वाचनमा उम्मेदवार बन्ने चर्चा चलेसँग पूर्वएमालेका नेताहरूका बीच अस्वस्थ प्रतिस्पर्धा चलेको छ ।

नेकपाका केन्द्रीय सदस्य (पूर्वएमाले) सूर्य थापाले बुधबार बिहान वामदेव गौतमलाई हलेदो भन्दै फेसबुकमार्फत घोँचपेच गरेपछि गौतमको गुटभित्र भुइँचालो गएको छ । गौतम निकटका मानिने पत्रकार विश्वमणि सुवेदीले सूर्य थापाको नाम नलिएर टपरटुइँयाँको संज्ञा दिएका छन् । सुवेदीले गौतमको प्रेससम्बन्धी काम गर्छन् ।

‘हलेदो भनेर चिनेपछि किन बोक्रा कोट्याइरहनु ? हलेदो आफै तरकारी हुने होइन, पहेँलो रंगका लागि अरूले मिसाउने न हो औचित्य बमोजिम । यसो हुनाले इच्छुकहरूले चाहे जसरी प्रयोग गरे भइहाल्यो’, नेकपाका केन्द्रीय सदस्य थापाले फेसबुकमा स्टाटर लेखेर गौतमको नाम नलिइ भनेका छन्, ‘विकासको मूल फुटेर फुटाएको हेर्न प्यूठान र बर्दियाको भ्रमणमा जानेहरूले देखिहाल्छन् । धेरै झुठमुठ बकवास गर्न आवश्यक छैन । काम कुरो एकातिर कुम्लो बोकी ठिमीतिर । ध्वनि प्रदुषण ।’

सूर्य थापाको कडा स्टाटस फेसबुकमा आएपछि गौतम निकटका पत्रकार विश्वमणि सुवेदीले पनि फेसबुकमार्फत नै प्रतिजवाफ दिएका छन् । सुवेदीले भनेका छन्, ‘पार्टी अफिसमा जागिर खाएको भरमा ‘नेता’ बनेको एउटा टपरटुँइयाँले बर्दियादेखि प्यूठानसम्मको विकासको ठेक्का लिएर वामदेवको बदख्वाँइ गर्दैछ ।’

‘पार्टीको सदस्यता च्यापेर पार्टीका नेताविरुद्ध बोल्न, लेख्न पाइने कि नपाइने ? यस्ता अराजकता हामीले कति दिन टुलुटुलु हेरेर बस्नुपर्ने ?’, सुवेदीले आक्रोशित हुँदै थापाविरुद्ध लेख्छन्, ‘प्यूठानमा वामदेवले चुनाव जितेपछि भएका कामका नमूना यिनै कागजले बोल्छन् । टपरटुँइयाँहरूको पछाडि प्यूठानी जनता पक्कै नलाग्लान् ।’

बर्दियाबाट नराम्रोसँग पराजित गौतमले सूर्य थापासहितका नेताहरूले आफूलाई हराएको आरोप लगाउँदै आएका छन् । गौतम र थापाबीच फिटिक्कै केमेस्ट्री मिल्दैन । थापाकै डरले गएको प्रतिनिधि सभा निर्वाचनमा गौतमले प्यूठान छाडेर बर्दियाबाट उम्मेदवारी दिएका थिए ।

विडम्बना वाम गठबन्धनको लहर चलेका बेला पनि गौतम नेपाली कांग्रेसका नेता सञ्जयकुमार गौतमसँग नराम्रोसँग पराजित भएका थिए ।

आफ्नै जिल्लाबाट पराजित भएका गौतमले काठमाडौं ७ का सांसद रामवीर मानन्धरलाई राजीनामा गर्न लगाई उपनिर्वाचनमा भिड्ने तयारी गररहेका बेला पूर्वएमालेभित्र भाँडभैलो शुरु भएको छ ।

आफूमाथि चौतर्फी आक्रमण हुन थालेपछि गौतमले बुधबार ललितपुरको भैँसेपाटीस्थित निवासमा निकटका नेता र सहयोगीहरूलाई बोलाएर कसरी अगाडि बढ्न भनेर परामर्श समेत गरेका छन् ।

Published : Wednesday, 2018 October 10, 7:33 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया