विश्वप्रकाशले दिएको निःशुल्क सुझावहरूले वामदेव गदगद !

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले काठमाडौं ७ मा उपनिर्वाचन भयो भने वामदेव गौतमलाई पराजित गरिदिने बताएका छन् ।

ललितपुरको बागमती गाउँपालिकाको भट्टेडाँडामा बुधबार आयोजित प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै प्रवक्ता शर्माले वामदेवलाई कांग्रेसले कुनै पनि हालतमा जित्न नदिने बताए । कम्युनिस्टहरूभित्र रहेको वामदेव प्रवृत्तिलाई पराजित गर्नैपर्ने उनले बताए ।

‘पहिला त काठमाडौं ७ मा उप–निर्वाचन हुँदैन । जसले राजीनामा दिने हो उहाँले राजीनामा दिन्छु मात्रै भनेका छन् । राजीनामा दिइसकेका छैनन् । राजीनामा दिनु र राजीनामा दिइहाल्नुमा फरक हुन्छ’, उनले भने, ‘अहिले राजीनामा दिन्छु भनेका छन्, राजीनामा दिएका छैनन् । यिनलाई भरसक प्रचण्डले राजीनामा गर्न लाउँदैनन् ।’

प्रवक्ता शर्माले भने, ‘यिनले राजीनामा दिएछन् र काठमाडौंका ७ मा निर्वाचन भयो भने तपाईहरूले रेकर्ड गरेर राख्नुस् । फेसबुकमा लेखेर राख्नुस् । कांग्रेसको प्रवक्ताले भन्यो भन्नुस् । काठमाडौं ७ मा यो कम्युनिस्ट पार्टीको जुन चरित्र र संस्कार देखिएको छ त्यसले गर्दा वामदेवलाई धुलो चटाउँछौँ ।’

‘हामी चुनाव कांग्रेसलाई जिताएर आउँछौँ । उम्मेदवार को बन्ला भनेर आत्तिनु पर्दैन । राम्रो मान्छे हुन्छ । तपाईहरू ढुक्क भएर बस्नुस् कांग्रेसले जित्छ’, कांग्रेसका प्रवक्ता शर्माले भने, ‘हामी वामदेव प्रवृत्तिको राजनीतिसँग सहमत छैनौँ । बर्दियामा हार्ने काठमाडौंमा जित्ने हुँदैन ।’

उनले भने, ‘ढोकाबाट रोकिएको मान्छे झ्यालबाट छिर्नतिर लाग्यो भने चोरी गर्न आएको बुझ्नुपर्छ । तपाईको घरबाट झ्यालबाट कोही छिर्न खोज्यो भने पाहुना पो आउनु भएको रहेछ स्वागत छ भन्नु हुन्छ र तपाईले ? यो के धन्दा हो भन्नुपर्छ ।’

‘झापामा हार्ने विश्वप्रकाश काठमाडौंमा लड्ने हुँदैन । बर्दियामा हारेको वामदेव काठमाडौंमा लड्नु हुँदैन । लड्नु हुन्छ भने बर्दियामा कांग्रेससँग जसरी हार्नुभएको थियो त्यसै गरी काठमाडौंमा पनि हराइन्छ । जसरी बर्दियामा हरायौँ, त्यसैगरी काठमाडौंमा हराउँछौँ ।’

‘कम्युनिस्टहरूले अस्थिरताको कुरा गर्ने ? वामदेव किन जाने संसदमा ? के कारण छ ? रामचन्द्र पौडेल बाहिर बस्न हुने । कृष्णप्रसाद सिटौला, विमलेन्द्र निधि, पूर्णबहादुर खड्काले प्रकाशशरण महत बाहिर बस्न हुने । उहाँको पार्टीको नारायणकाजी बाहिर बस्न हुने । बामदेवजीको के त्यस्तो बौद्धिकता छ ? के हो त्यो यो देशलाई नभइ नहुने ? यसो रेस्ट गरे हुन्न ?’
प्रवक्ता शर्माले वामदेवलाई धर्मकर्म गर्नतिर लाग्न सुझाव दिए । ‘अब गीतासीता पढेर धर्मकर्म गरेर पुरानो दिनमा गरेका गल्तीहरू पश्चाताप गरे हुन्न ? छ महिनामा चाहिने भयो सांसद पद ? पराजय भएको वर्षदिन भएको छैन किन चाहियो सांसद ? वनमन्त्री हुन ? होइन शान्ति सुरक्षा कायम भएन ? किन वामदेव आएपछि शान्ति सुरक्षा हुन्छ भन्नु पर्‍यो । माफी माग्नु प¥यो । शान्ति सुरक्षा कायम गर्न सकेनौँ वामदेवसँग मन्त्र छ उनले शान्ति सुरक्षा कायम गर्छन् अनि चुनाव लड्ने हो । गृहमन्त्री हुन पनि होइन अनि के त ? प्रधानमन्त्री हुन ? ए प्रधानमन्त्री ! केपी ओली पछि प्रचण्ड भनेर पालो बाँडेकै छन् ।’

‘भोट माग्नेलाई के भनेका छन् ? स्थिरताको नारा हामीले जित्यौँ भने पाँच वर्षको स्थिर सरकार बनाउँछौँ भन्ने धमाधम ल्याएका छन् प्रधानमन्त्रीका उम्मेदवार । वामदेव कमरेडलाई हामीले त्यहाँ रोक्यौँ भने दुई वटा फाइदा हुन्छ । पहिलो फाइदा देशभरिमा हारेको भनिएको बेला हाम्रो कांग्रेस पार्टीमा नवीन उर्जा आउँछ । हामी डेरा, डण्डा डालेर हामी त्यहीँ खान्छौँ । त्यहीँ बस्छौँ । त्यही पिउँछौँ त्यही लडाइँ गर्छौं सबै कुरा त्यहीँ गर्छौं । काठमाडौंको ७ मा घरघरमा पुगेर कांग्रेसलाई जित्ने बनाउँछौँ । देशभरि उर्जा दिन्छ’, प्रवक्ता शर्माले भनेका छन् ।
‘वामदेवले हारेर कांग्रेसले जित्यो भने केपी ओलीले खुइया गरेर तालुमा हात लगाएर मेरो सरकारले राम्रो गरेको भए त जनताले त्यहाँ हाम्रो पार्टीलाई जिताउँथे सरकारले ठीक गरेको रहेनछ मैले सच्चिनु पर्छ भन्ने उहाँलाई ज्ञान प्राप्त हुन्छ’, उनले भनेका छन् ।

‘अस्तिको चुनावमा हारेका हामी कोही पनि काठमाडौं ७ मा उम्मेदवार बन्दैनौँ । अहिले आधिकारिक लाइन बनेको छैन । संसदीय बोर्डले गर्ने कुरा हो । कांग्रेस वामदेव प्रवृत्तिको पछि लागेर हुँदैन । हामीले धैर्य गर्नुपर्छ । बाहिर बसेर संगठन गर्नुपर्छ मेचीदेखि महाकाली कुद्नुपर्छ’, शर्माले भने, ‘साथीहरूमा उर्जा भर्नुपर्छ । म पनि झापाको १ नम्बरमा चुनाव हारे । राप्रपा, माओवादी र एमाले मिलेका थिए । मतअन्तर घटाउँदै ल्याए । २४ हजारको फरक थियो । २८ सय ६३ मा ल्याइयो । भोट गन्दै आउँदा त पहिला दश हजार जतिको फरक थियो । भोट गन्दै आउँदा घट्दै–घट्दै आयो । अरु दुईतीन दिन भोट गन्न पाएको भए म जित्नेवाला थिएँ । तर गन्न मिलेन । बाक्सा सकियो । मेरो अब केही उपाय लाग्छ ? हारियो ।’

‘जाउ बारीमा गएर फूल टिपेर ल्याउ भने धागो सियो पनि लिएर आउ भने । फूल टिपेर ल्याए हाँसेर माला बनाए । कमरेडको काँधमा लगाइदिएँ । कमरेड मैले लगाइदिएको माला ओइलाउला । तर, जनताले दिएको विश्वासलाई ओइलिएर जान नदिनु भनेको थिएँ । तर, देशभरि कम्युनिस्ट सरकारले दिएको शासनले देश ओइलिन लागेको छ’, कांग्रेसका प्रवक्ता शर्माले भनेका छन्, ‘मलाई फाइल बक्ने भनिएको छैन । मलाई देशभरिका कार्यकर्तामा जा भन्ने म्याण्डेट दिइएको छ । कांग्रेसका कार्यकर्ताले अर्को पटक त्यही झापाबाट जित्छस् भनेका छन् ।’

‘कम्युनिस्टहरूको चरित्रले गर्दा हामी पाँच वर्षपछि सरकारमा जाने छौँ’, उनले भने, ‘हामीलाई लागेको थियो सत्तामा जान दश वर्ष लाग्छ । तर, पाँच वर्षभित्रै सत्तामा जाने छौं ।’

ललितपुरको बागमती गाउँपालिकाको भट्टे डाँडामा आयोजित शुभकामना आदान प्रदान तथा प्रशिक्षण कार्यक्रममा कांग्रेसका युवा नेताहरू उदयशम्शेर राणा, मीनकृष्ण महर्जन, स्वर्णिम वाग्लेसहितका नेताहरूको सहभागिता रहेको थियो ।

Published : Thursday, 2018 October 11, 11:56 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया