वीपीले शुरु गरेको कांग्रेसको कार्यक्रम बल्ल गाउँ पस्यो

काठमाडौं । नेपाली कांग्रेसले आफूलाई जनतामाझ लैजान विभिन्न गतिविधि गर्दै आएको छ । निर्वाचनमा मतादाताहरूले नेतालाई पाठ सिकाएपछि कांग्रेसले सुधारको संकेत गरेको हो ।

यसैबीच दसैँको कोजाग्रत पूर्णिमाको दिन कांग्रेसले बर्सेनि गर्दै आएको चियापानको स्वरूप बदल्ने भएको छ । बिपी कोइराला भारत निर्वासनबाट राष्ट्रिय मेलमिलपाको नीति लिएर फर्किएपछि २०३४ सालबाट बर्सेनि कोजाग्रत पूर्णिमाको दिन कांग्रेसले चियापान गर्दै आएको थियो । तर, अहिलेसम्म पार्टी केन्द्रीय कार्यालयमा हुँदै आएको चियापान यसपटक ७४ जिल्लामा पनि हुने भएको छ ।

काठमाडौं, ललितपुर, भक्तपुरको जिल्ला कार्यसमितिले केन्द्रमै कार्यक्रम गर्ने भए पनि ७ कात्तिकमा अरू ७४ जिल्ला सदरमुकाममा पनि केन्द्रीय स्वरूपमै चियापान गरिने कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।

‘३३ सालमा बिपी निर्वासनबाट फर्किएपछि ०३४ सालपछि राष्ट्रिय मेलमिलापका लागि दसैँको पूर्णिमाको दिन पार्टीको केन्द्रमा मात्र चियापान हुन्थ्यो,’ शर्माले भने, ‘४१ वर्षपछि केन्द्रबाट कांग्रेसको चियापान विकेन्द्रित हुँदै छ ।’

केन्द्रमा प्रधानमन्त्री, मन्त्रीहरू, राजनीतिक दलका नेता, उच्च पदस्थ कर्मचारीहरू, नागरिक समाज, पेसागत संघ–संगठनका प्रतिनिधि, कूटनीतिज्ञ, सर्वसाधारणलाई आमन्त्रित गरिने कार्यक्रमको स्वरूप जिल्लामा पनि यस्तै हुने उनले बताए ।

जिल्लाबाट प्रतिनिधित्व गर्ने सांसद, प्रदेश सांसद, दलका नेता, गाउँपालिका, नगरपालिकाका प्रतिनिधि, पेसागत संगठनका प्रतिनिधिसहितलाई बोलाइने शर्माले बताए ।

केन्द्रमा जस्तै कोजाग्रत पूर्णिमाको दिन जिल्लाहरूमा पनि ७ असोजमा १ बजे नै कार्यक्रम सुरु हुनेछ ।

कांग्रेस महामन्त्री पूर्णबहादुर खड्काले ७४ वटै जिल्लालाई परिपत्र गरी ‘सामाजिक सद्भाव र सुसंस्कृत व्यवहार अभिवृद्धि गरौँ’ भन्ने नाराका साथ शुभकामना आदानप्रदान तथा चियापानको कार्यक्रम गर्न सर्कुलर गरेका छन् ।

केन्द्रबाट जिल्लामा पनि चियापानको परम्परा सुरु गरेर कांग्रेसले आफूलाई बदलेको संकेत गरेको शर्मा बताउँछन् ।

‘हामीले ४१ वर्षसम्म एउटा अभ्यास ग-यौँ, तर अब कांग्रेस बदलिँदै गएको सन्देश हामीले दिन खोजेका हौँ,’ शर्माले भने, ‘यसकारण हामीले चियापानलाई विकेन्द्रित पनि गरेका हौँ ।’

Published : Friday, 2018 October 12, 9:07 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया