कांग्रेसभित्रको गुट अन्त्य गरौँ, पार्टी आफै बन्छः बलबहादुर केसी

ललितपुर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य बलबहादुर केसीले खड्गप्रसाद ओली नेतृत्वको सरकार अधिनायकवादतर्फ उन्मुख भएको भन्दै वर्तमान कम्युनिस्ट सरकार धेरै नटिक्ने चेतावनी दिएका छन् ।

ललितपुर क्षेत्र नं. १ नेपाल तरुण दलले गोदावारी नगरपालिकाको बज्रबाराहीमा शनिबार आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा नेता केसीले कम्युनिस्टहरूलाई दुईतिहाई बहुमतको दम्भमा देशलाई अधिनायकवादतर्फ लैजान खोजेको बताए ।

तर, कांग्रेसले कम्युनिस्टहरूको अधिनायकवाद ल्याउने उदेश्यलाई पूरा हुन नदिने बताए ।

कांग्रेस पार्टीभित्र गुट र उपगुटले गर्दा समस्या उत्पन्न भएको नेता केसीको गुनासो थियो । ‘कांग्रेस विधानअनुसार चलेको छैन । निर्वाचनका बेला अन्तरघात गरेर आफ्नै उम्मेदवारलाई हराइन्छ’, उनले भने, ‘अन्तरघात गर्नेलाई कारबाही गर्ने भनिन्छ । तर, अन्तरघात गर्नेहरू कि सभापति शेरबहादुर देउवाका मान्छे छन् कि वरिष्ठ नेता रामचन्द्र पौडेलका छन् ।’

नेता केसीले भने, ‘उहाँहरूले नै अन्तरघाती आफ्ना नेतालाई संरक्षण गर्नुभएको छ । कांग्रेसभित्रको दण्डहिनता अन्त्य हुनुपर्छ ।’

चियापन कार्यक्रममा नेपाली कांग्रेस ललितपुरका सभापति एवम् पूर्व सांसद मदनबहदाुर अमात्य, पूर्वराज्यमन्त्री एवम् पूर्वसांसद उदयशम्शेर राणा, कांग्रेसका युवा नेता एवम् महासमिति सदस्य मीनकृष्ण महर्जन, नेपाल तरुण दलका केन्द्रीय अध्यक्ष जितजंग बस्नेत, महासमिति सदस्य ऋषिराम घिमिरेसहितका नेता तथा कार्यकर्ताहरूको सहभागिता रहेको थियो ।

Published : Saturday, 2018 October 13, 5:35 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया