कांग्रेसको चियापानमा हेरफेर, शुभेच्छुकहरूसँग माफी मागियो

काठमाडौं । नेपाली कांग्रेसले दशैँ, तिहार, नेपाल सम्वत् र छठ पर्ववका अवसरमा गर्ने भनिएको कार्यक्रमको समय सारेको छ ।

कांग्रेसले आगामी कात्तिक ७ गते कोजाग्रत पूर्णिमाका दिन केन्द्र र सबै जिल्लाहरूमा शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रम राखेको थियो ।

तर, कांग्रेसका पूर्व केन्द्रीय सदस्य चक्रप्रसाद बास्तोलाको निधन भएपछि सो दिनको कार्यक्रमलाई कात्तिक १६ गते शुक्रबारका दिन गर्ने गरी मिति परिवर्तन गरिएको सोमबार आयोजित कार्यक्रममा उल्लेख छ ।

‘कांग्रेसका नेता, पूर्व केन्द्रीय सदस्य, पूर्वमन्त्री एवम् भारतका लागि नेपालका पूर्वराजदूत चक्रप्रसाद बाँस्तोलाको २०७५ असोज २७ गते राति भएको निधनका कारण उहाँको निधनको तेह्रौं दिनसम्म पार्टी विभिन्न शोकका कार्यक्रमको आयोजना गर्ने भएकोले उहाँप्रति सम्मान प्रकट गर्दै शुभकामना आदान प्रदान र चियापानको कार्यक्रमको मिति परिवर्तन गरिएको छ’, कांग्रेसद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।

‘शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रम २०७५ कात्तिक १६ गते दिउँसो १ बजेदेखि ५ बजेसम्म पार्टी केन्द्रीय कार्यालय वीपी स्मृति भवन वीपी नगर ललितपूरमा र उपत्यकाका तीन जिल्ला बाहेक अन्य जिल्लाहरूमा आयोजना हुनेछ । उपत्यकाका तीन जिल्ला केन्द्रको कार्यक्रममा सहभागी हुनेछन्’, कांग्रेसको विज्ञप्तिमा उल्लेख छ ।

कांग्रेसले पूर्वनिर्धाति कार्यक्रमको मिति परिवर्तन भएको कारण उत्पन्न भएको असुविधाका लागि कांग्रेस क्षमा याचना गरेको छ ।

‘यसअघि निमन्त्रणा पठाइएका सबै महानुभावहरुलाई शुभकामना तथा निमन्त्रणा पत्र पुनः पठाइनेछ’, कांग्रेसले भनेको छ, ‘कुनै कारणवस शुभकामना र निमन्त्रणा पत्र समयमा प्राप्त हुन नसकेमा यसै प्रेस विज्ञप्तिमार्फत् सबै महानुभावहरू तथा नेपाली कांग्रेसका सदस्यहरू एवं शुभेच्छुकहरूलाई यसै अनुरोधलाई निमन्त्रणा स्वीकार गरी कात्तिक १६ गतेका लागि निर्धाति शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रममा सहभागी भईदिनु हुन नेपाली कांग्रेस सबैमा अनुरोध गर्दछ’, सोमबार जारी कांग्रेसको विज्ञप्तिमा उल्लेख छ ।

Published : Monday, 2018 October 15, 4:20 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया