यी बद्मासहरूलाई नौ हजारको रक्सीले डुबायो

काठमाडौं । प्रहरीले नक्कली नेपाली नोटसहित पाँच जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले शनिबार राति कीर्तीपुर नगरपालिका मच्छेगाँउ ४ बाट पक्राउ गरेको हो । कोठा भाडामा लिएर कारखाना नै खोली नक्कली नोट छाप्ने गरेको परिसरका एसएसपी वसन्त लामाले जानकारी दिए ।

प्रहरीले नक्कली नोट छाप्ने मेसिन, नक्कली नोटकालागि आवश्यक कागज र नक्कली नोट समेत बरामद गरेको छ । प्रहरीले उनीहरुबाट ३ लाख ७० हजार रुपैयाँको तयारी अवस्थामा रहेको नक्कली नोट बरामद गरेको छ ।

प्रहरीले मुख्य योजनाकार २७ वर्षीय इन्द्रबहादुर श्रेष्ठ,२५ वर्षीय नारायण श्रेष्ठ, २५ वर्षीय सहिल थापा,२८ वर्षीय राज श्रेष्ठ र २९ वर्षीय विकास दोचेलाई सार्वजनिक गरेको छ ।

उनीहरूले अहिलेसम्म पाँच लाख बराबरको नक्कली नोट छापिसकेको एसएसपी लामाले बताए ।

गत शुक्रवार विकास दोर्चे र उनका साथी चावहिलको चाँदनी रेष्टुरेष्ट एण्ड वारमा गएका थिए । रातभर खाए पिए रमाए । अन्तिमा विल उठ्यो ९ हजार रुपैयाँ । उनीहरूले खल्तीमा भएको पैसा तिरे ।

बार संचालकलाई उनीहरूले दिएको पैसामा शंका लाग्यो । उनले महानगरीय प्रहरी वृत गौशालामा फोन गरे । प्रहरीले तत्काल उनीहरूलाई पक्राउ गरी सोधपुछ थाल्यो । उनीहरूले दिएको पैसा नक्कली भएको खुल्यो ।

उनीहरूकै सूचनाका आधारमा प्रहरीले शनिबार मुख्य योजनाकार २७ वर्षीय इन्द्रबहादुर श्रेष्ठ, २५ वर्षीय नारायण श्रेष्ठ, २५ वर्षीय सहिल थापा, २८ वर्षीय राज श्रेष्ठलाई पक्राउ गर्न सफल भएको थियो ।

२७ वर्षीय इन्द्रबहादुर श्रेष्ठ नक्कली नोटको मुख्य कारोबारी भएको खुलेको छ । श्रेष्ठ केहि महिना अगाडि मात्र हातहतियार खरखजना मुद्धामा जेल सजाय भुक्तान गरी निस्किएका व्यक्ति हुन् ।

श्रेष्ठले केही समय अगाडि धरानमा नक्कली नोट सहित एक कारोबारी समातिएको समाचार पढेको र त्यसपछि आफु पनि नक्कली नोट छाप्न लागेको प्रहरीमा बयान दिएको एक प्रहरी अधिकृतल जानकारी दिए ।

उनीहरूले कलर प्रिन्टरको सहायताले फोटोकपी गरी नक्कली नोट छाप्ने गरेको खुलेको छ । उनीहरूले बजारमा पाइने गुणस्तरीय पेपरमा नोट छाप्ने गर्थे । एक पटकमा चारवटा नक्कली नोट छाप्ने गरेको एसएसपी लामाले बताए ।

चारवटा नक्कली नोट छाप्न ३० सेकेन्डदेखि १ मिनेट लाग्छ । ए फोर साइजको कागजमा एकैचोटी चारवटा नोटको फोटोकपी गरेपछि सक्कली नोटको साइजमा मिलाएर कटिङ गर्थे । कटिङ गरेपछि नक्कली नोट तयार हुन्थ्यो ।

हजारको नक्कली नोटलाई १ लाखको बन्डल बनाएर गोर्खा फाइनान्सको ट्याग लगाएर बजारमा लैजान्थे । फाइनान्सको ट्याग लगाएपछि मानिसले नक्कली नोट भएको आशंका नगर्ने भएकाले यस्तो उपाय अपनाएका हुन् ।

Published : Monday, 2018 October 22, 12:30 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया