जनतालाई घुँडा टेकाउने राष्ट्रपतिले माफी माग्नुपर्छः कांग्रेस

काठमाडौं । दशैँको टीका लगाइदिने क्रममा सर्वसाधारण नागरिकहरूलाई राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा गरिएको अपमानप्रति नेपाली कांग्रेसले आपत्ति जनाउँदै राष्ट्रपति कार्यालय शीतल निवासलाई जनतासँग माफी माग्न चेतावनी दिएको छ ।

कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले नेपाली रेडियो नेटवर्कमा मंगलबार बिहान पत्रकार ऋषि धमलासँग कुरा गर्दै राष्ट्रपति भण्डारीद्वारा सर्वसाधारण नागरिकलाई गरिएको व्यवहारले कांग्रेसलाई दिक्क बनाएको बताए ।

‘दशैँका बेला राष्ट्रपतिबाट भएको व्यवहारले राष्ट्रपति पदको गरिमा र मर्यादालाई धुमिल बनाइएको छ’, उनले भनेका छन्, ‘दशैँको टीका लगाउने क्रममा सार्वजनिक भएका तस्बिरहरूले सबैलाई दिक्क बनाएको छ ।’

विद्यादेवी भण्डारीले राष्ट्रपति पदको गरिमालाई नबुझेको कांग्रेसका प्रवक्ता शर्माले आरोप लगाए । ‘राष्ट्रपति विद्यादेवी भण्डारीबाट त्यस्तो कार्य गर्नु हुँदैन थियो’, उनले भने, ‘ती तस्बिरहरूमा देखिएका व्यवहार गलत छन् । यो विषयमा राष्ट्रपति विद्यादेवी भण्डारी र राष्ट्रपति भवनले क्षमायाचना गर्नुपर्छ । यो विषय सानो होइन । कांग्रेसलाई गम्भीर बनाएको छ ।’

जनताले एउटा राजालाई फालेर अर्को राजा स्थापना नगरेको कांग्रेसका प्रवक्ता शर्माले बताए । ‘जनताले अर्को राजा खोजेका होइनन्’, उनले भने, ‘जनतालाई रैती ठान्ने प्रवृत्तिको अन्त्य खोजेका हुन् । यो परम्परा गलत छ । अस्वीकार्य छ ।’

प्रवक्ता शर्माले कांग्रेसका नेताहरू भाषणमा भन्दा पनि काम गरेर जनतालाई राहत दिने विषयमा आफूहरूलाई केन्द्रित गर्ने गरेको बताएका छन् ।

‘कांग्रेसका नेताहरूले भाषण गर्न जान्दैनन् । तर काम गर्छन्’, उनले भने, ‘सुशील कोइरालाले बोलेको बुझिदैन भनेर सबैले भन्थेँ । उहाँकै नेतृतवमा नयाँ संविधान बन्यो । त्यही संविधानको कितावले शासन चलाएका छन् । भाषण गर्न जान्ने कम्युनिस्ट नेताहरू थिए । तर, उनीहरूले संविधान बनाउन सकेनन् ।’

दशैँका बेला कांग्रेसले विभिन्न स्थानहरूमा रक्तदानको कार्यक्रम गरिएको प्रवक्ता शर्माले बताए । ‘दशैँमा १६–१७ लाखको औषधि लगेर हाम्रा साथीहरूले स्वास्थ्य शिविर चलाएका छन्’, शर्माले भने, ‘रक्तदान गरेका छौं । जनतालाई सानो सहयोग भए पनि गरेका छौँ ।’

Published : Tuesday, 2018 October 23, 1:48 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया