राजधानीसहित ७४ जिल्लामा कांग्रेसको चियापान, सबै स्थानमा गरी एकलाख सहभागी हुने

काठमाडौं । नेपाली कांग्रेसले पहिलो पटक काठमाडौं उपत्यका सहित ७४ जिल्लामा एकसाथ चियापान तथा शुभकामना आदान प्रदानको कार्यक्रम गर्दैछ ।

दशैं, तिहार, नेपाल सम्वत, छठ लगायतका पर्वहरूको उपलक्ष्यमा नेपाली कांग्रेसले कात्तिक १६ गते अर्थात शुक्रबार राजधानी उपत्यकामा एक स्थान र उपत्यका बाहिरका ७४ जिल्लामा एकसाथ चियापान कार्यक्रम गर्न लागेको हो ।

उपत्यकाको हकमा काठमाडौं, भक्तपुर र ललितपुरका नेता तथा कार्यकर्ता सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा हुने चियापान कार्यक्रममा सहभागी हुने कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।

चियापान तथा शुभकामना आदान प्रदान कार्यक्रम दिउँसो एकदेखि अपारन्ह पाँच बजेसम्म हुनेछ । चियापान कार्यक्रममा कांग्रेसका नेता तथा कार्यकर्तादेखि साधारण मजदुरसम्मलाई निम्तो दिइएको छ ।

राजधानी र उपत्यका बाहिरका ७४ जिल्लामा गरेर एक लाखको उपस्थिति रहने प्रवक्ता शर्माले बताए । उनले भने, ‘पहिलो पटक राजधानीसहित उपत्यका बाहिरका ७४ वटै (प्रत्येक) जिल्लामा चियापान कार्यक्रम तथा शुभकामना आदान प्रदानको कार्यक्रम राखिएको छ । सबै जिल्लामा गरेर १ लाखको सहभागिता रहने हामीले तयारी गरेका छौँ ।’

निर्वासानबाट ०३३ सालमा स्वदेश फर्र्किएका वीपी कोइरालाले ०३४ सालदेखि आफै उपस्थित भएर कोजाग्रत पूर्णिमाका दिन शुभकामना आदान प्रदान गर्न चियापान कार्यक्रमको आयोजना गर्दै आएका थिए ।

०३८ सालसम्म वीपी कोइराला स्वयं उपस्थित भएर चियापान तथा शुभकामना आदान प्रदान कार्यक्रममा सहभागी भएको प्रवक्ता शर्माले बताए ।

०३९ सालमा वीपी कोइरालाको निधन भएसँगै त्यसपछिका कांग्रेसका सभापतिहरूले चियापानलाई निरन्तरता दिँदै आएका छन् ।

नेपाली कांग्रेसको इतिहाँसमा पहिलो पटक राजधानीबाहेक देशैभरिका सबै जिल्लामा चियापान तथा शुभकामना आदान प्रदान कार्यक्रम हुन लागेको छ ।

नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री चक्रप्रसाद बास्तोलाको निधन र कोजाग्रतपूर्णिमाका दिन १३औँ दिनको पून्यतिथी परेकाले यस पटक कात्तिक १६ गते शुक्रबारसम्मका लागि चियापान कार्यक्रम सारिएको थियो ।

Published : Thursday, 2018 November 1, 8:51 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया