वीपीको मेलमिलापकै कारण परिवर्तन सम्भव भयोः प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का दोस्रो अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमा शान्ति, स्थिरता र विकासले गति लिने आधार राष्ट्रिय एकताको आधार भएको बताएका छन् ।

सानेपामा शुक्रबार नेपाली कांग्रेसले आयोजना गरेको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रमलाई सम्बोधन गर्दै दाहालले अहिले पनि राष्ट्रिय एकता र मेलमिलाप आवश्यक रहेको बताए ।

‘राष्ट्रिय एकता र मेलमिलापको आवश्यकता हिजो जति थियो आज पनि त्यति नै छ’, उनले भने, ‘यो देशमा जतिपनि ठूला ठूला राजनीतिक परिवर्तनहरु भएका छन् ती सबै राष्ट्रिय एकताका आधारमा मात्र भएका छन् ।’

उनले राजनीतिक दल, बुद्धिजीवी र नागरिकहरुका बीचमा एकता नभइकन राजनीतिक स्थिरता, विकास जनताको भावना र आवश्यकता परिपूर्ति नहुने बताए ।

‘हामीले मिलेरै शान्ति प्रक्रियालाई एउटा टुंगोमा पुरायौं भलै समापन गर्न काम अझै बाँकी छ’, उनले भने, ‘हामीले मिलेरै संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान बनायौं । हामीले मिलेर नै निर्वाचन गर्याैं । अब पनि हामी मिलेर नै फेरि संविधानको मर्म भावना अनुसार जनताको चाहाना अनुसार विकास र समृद्धिको एउटा नयाँ यात्रातिर जानुछ ।’

विश्वेश्वरप्रसाद कोइरालाको राष्ट्रिय एकता र मेलमिलापको नीतिको सन्दर्भ स्मरण गर्दै अध्यक्ष दाहालले सात दलको तर्फबाट गिरिजाप्रसाद कोइराला र तत्कालीन नेकपा (माओवादी)का तर्फबाट आफूले हस्ताक्षर गर्दा पनि राष्ट्रिय एकताकै आधार मानिएको बताए ।

उनले भने, ‘राष्ट्रिय एकताको आधार मानिएकै कारण यो परिवर्तन सम्भव भयो यद्दपी परिवर्तन अझै राम्रो संस्थागत भईसकेको छैन ।’ जनताले छिटोभन्दा छिटो समृद्धि चाहेका बताएका उनले यो पनि राष्ट्रिय एकताद्वारा मात्रै सम्भव हुने बताए ।

‘त्यसकारण यी पर्वहरुका सन्दर्भमा र चियापान आदान प्रदानका सन्दर्भमा ठण्डा दिमागले सोचेर राष्ट्रिय एकताकै माहौल बनाउने र राष्ट्रिय संकल्पसहित समृद्धिको यात्रामा जान नेपाली कांग्रेसका नेता कार्यकर्ता, शुभेच्छुक र सम्पूर्ण जनसमुदायमा अपील गर्दै शुभकामना दिन चाहन्छु ।’

Published : Friday, 2018 November 2, 7:00 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया