यस्तो रह्यो कांग्रेसको देशभरिको चियापान, कम्युनिस्ट नेताहरुले गरे प्रशंसा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शरबहादुर देउवाले राष्ट्रिय एकताको बाटोबाट अगाडि बढ्न आफूहरु तयार रहेको बताएका छन् ।

ललितपुरको सानेपास्थित पार्टी मुख्यालयमा शुक्रबार दशैं, तिहार, छठलगायतका पर्वको अवसर आयोजित चियापान कार्यक्रममा पत्रकार सम्बोधन गर्दै सभापति देउवाले कांग्रेसको आगामी बाटो सरकारको चाहनामा भर पर्ने बताए ।

सभापति देउवाले विपी कोइरालाले राष्ट्रिय मेलमिलापको नीति लिएर सुरु गरेको चियापान कार्यक्रम ऐतिहासिक भएको स्मरण गराए । उनले शान्तिपूर्ण, भेदभावरहित समृद्ध नेपाल निर्माण निर्माण गर्ने सबैको चाहना पूरा गर्न सफलता मिलोस् भनि शुभकामना समेत व्यक्त गरेका छन् ।

पार्टीका संस्थापक विपी कोइरालाले २०३३ सालमा मेलमिलापको नीति लिएर भारत प्रवासबाट स्वदेश फर्केपछि सुरु गरिएको चियापान कार्यक्रमलाई कांग्रेसले सदाझैं यस वर्ष पनि निरन्तरता दिएको छ ।

कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले मुलुकलाई समृद्ध बनाउन सबैभन्दा अनुकूल अवसर आएको उल्लेख गरे । उनले त्यसलाई सदुपयोग गरेर अघि बढन सरकारलाई सुझाव दिए ।

पौडेलले राष्ट्रिय एकता र मेलमिलाप मुलुकका लागि आज पनि उत्तिकै आवश्यक रहेको पनि स्पष्ट पारे ।

चियापान कार्यक्रममा राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल, राष्ट्रिय जनता पार्टी, नेपालका संयोजक महन्थ ठाकुर, राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) का अध्यक्ष पशुपति शमशेर राणा, नेपालका लागि भारतीय राजदूत मञ्जीभसिंह पुरीलगायतको सहभागिता रहेको थियो ।

नेपाली कांग्रेसले विपी कोइरालाले राष्ट्रिय मेलमिलापको नीति लिएर स्वदेश फर्केको दिनलाई स्मरण गरेर हरेक वर्ष दसैंको कोजाग्रत पूर्णिमाको दिन चियापान कार्यक्रम आयोजना गर्दै आएको छ ।

यसैबीच, नेपाली कांग्रेसले पहिलो पटक देशभरि चियापान तथा शुभकामना आदानप्रदानको कार्यक्रम गरेको छ । काठमाडौं उपत्यकाभन्दा बाहिरका ७४ जिल्लामा भएका चियापान कार्यक्रमहरुमा उल्लेख्य नेता कार्यकर्ताहरुको उपस्थिति रहेको कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले बताए ।

कांग्रेसले गरेको चियापान कार्यक्रममा यस पटक कम्युनिस्ट नेताहरुको अलिक धेरै उपस्थिति रहेको थियो । कम्युनिस्ट नेताहरुले चियापान कार्यक्रम व्यवस्थित र राम्रो गरेको भन्दै कांग्रेसको प्रशंसा समेत गरेका थिए । यसरी प्रशंसा गर्नेमा नेकपाका नेता झलनाथ खनाल अगाडि देखिए ।

Published : Friday, 2018 November 2, 7:45 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया