अटेरी कान्छो समूहका कारण कांग्रेसभित्र तनाव

काठमाडौं  । मंसिरको पहिलो साता गर्ने भनिएको नेपाली कांग्रेसको महासमिति बैठक केहीपर धकेलिने पक्का भएको छ ।

विधान मस्यौदा समितिले काम गर्न ढिलाइ गरेका कारण महासमिति बैठक प्रभावित हुन लागेको हो । कांग्रेसले मंसिरको ५ देखि ९ गतेसम्म काठमाडौंमा महासमितिको बैठक गर्ने यसअघि नै निर्णय गरिसकेको छ ।

नेपाली कांग्रेसका महामन्त्री डा.शशांक कोइरालाले विधान मस्यौदा समितिमा काम पूरा नभइसकेकाले महासमितिको बैठक १–२ हप्ता पछाडि सार्ने तयारी भएको जानकारी दिए ।

‘विधान मस्यौदा समितिले दिनरात नभनि काम गरिरहेको छ’, उनले भने, ‘धेरै होइन १–२ हप्ताका लागि महासमिति बैठक पर धकेलिन सक्छ ।’

महामन्त्री पूर्णबहादुर खड्काको नेतृत्वमा रहेको विधान मस्यौदा समितिले लगातार काम गर्दै आएको छ । तर, सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्दै पौडेल तथा कृष्णप्रसाद सिटौला समूहले आफू अनुकूलको विधान बनाउन दवाव दिने गरेपछि समस्या हुँदै आएको छ । सोही कारण महासमिति बैठक तोकिएको मितिमा नहुने भएको हो ।

कांग्रेसभित्र वरिष्ठ नेता पौडेलले भन्दा पनि कान्छो समूहका रुपमा उदाएको सिटौला समूहले बखेडा झिक्ने गरेको छ । सिटौला समूहका कारण नै कांग्रेसले सहज रुपमा काम गर्न नसकेको भनेर आलोचना भइरहेको छ । नेता सिटौलाले हरेक ठाउँमा भागबण्डा खोज्ने गरेका छन् । सिटौलालाई गगन थापा र प्रदीप पौडेलले साथ दिएका छन् ।

कांग्रेसले नयाँ सविधान र संघीय स्वरुपअनुसार आफूलाई नयाँ संरचनामा लैजान विधानको मस्यौदा बनाइ रहेको छ । नयाँ संरचनामा जाँदा गृहकार्य नपुगेको पनि नेताहरूले बताउँदै आएका छन् ।

कांग्रेसले महासमिति बैठकको तयारी धमाधम गरिरहेको छ । विभिन्न उपसमितिहरू बनेका छन् । ती उपसमितिहरूले काम गरिरहेका छन् ।

Published : Saturday, 2018 November 3, 3:56 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया