कम्युनिस्ट मन्त्री चढेको हेलिकप्टरले बिगार्‍यो क्रिकेट मैदान

वीरगञ्ज । कम्युनिस्ट सरकारका उपप्रधान एवम् रक्षामन्त्री ईश्वर पोखरेल चढेको हेलिकप्टर अवतरणका बेला बिग्रिएको क्रिकेट मैदानलाई मर्मत गरिएको छ ।

नेपाली सेनाको हेलिकप्टर चढेर नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बाराले आयोजना गरेको चियापान कार्यक्रममा सहभागी हुन आएका बेला मन्त्री पोखरेल सवार हेलिकप्टरले बारास्थित सिद्धेश्वर क्रिकेट मैदान बिगारिदिएको थियो । हेलिकप्टरले बिगारिदएको क्रिकेट मैदानलाई आइतबार मर्मत गरिएको छ ।

रोड रोलर लगाएर पिच मर्मत गरेको क्रिकेट आयोजक बारा एनप्याब्सनका अध्यक्ष प्रभुलालप्रसाद कुसवाहले बताएका छन् ।

नेकपाले बारामा शनिबार आयोजना गरेको चियापानमा सहभागी हुन रक्षामन्त्री पोखरेल सेनाको हेलिकप्टरमा आएका थिए । क्रिकेट खेल अबरुद्ध गरेर हेलिकप्टरलाई क्रिकेट मैदानमा अवतरण गरिएको थियो ।

क्रिकेट मैदानमा तीन घण्टा हेलिकप्टर राखेपछि शनिबार तय भएका दुई वटा खेल स्थगित गरिएको थियो ।

स्थानीय प्रशासन र राजनीतिक दलको दबाबमा २०–२० ओभरमा खेलाउनुपर्ने खेल घटाएर १२ ओभरमै सकिएको थियो ।

बाराका कायममुकायम प्रमुख जिल्ला अधिकारी गणेश भट्टराईले आयोजककै सहमतिअनुसार मैदानमा हेलिकप्टर अवतरण गरिएको दाबी गरेका छन् ।

अमलेखगञ्जमा सेनाको जंगल वारफेयर शिक्षालयको निरीक्षण गर्न भन्दै बारा आएका मन्त्री पोखरेल नेकपाले राखेको चियापान कार्यक्रममा सहभागी भएका थिए ।

Published : Monday, 2018 November 5, 12:43 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया