कम्युनिस्ट सरकारविरुद्ध उत्रियो नेविसंघ, ओलीको पुत्ला जलाउने

काठमाडौं । नेपाल विद्यार्थी संघ (नेविसंघ)का अध्यक्ष नैनसिंह महरले तपेश्वर उच्च माध्यामिक विद्यालय काभ्रेका इकाई अध्यक्ष कृष्ण ढकाललाई विनासर्त रिहाई नगरिए कडा आन्दोलनमा उत्रिने चेतावनी दिएका छन् ।

काठमाडौंमा शनिबार पत्रकार सम्मेलन गरेर सभापति महरले जनताका अधिकार र महंगीको बारेमा सरकार बेखबर रहेको भन्दै आफ्ना कार्यकर्ताहरूलाई विभिन्न बहाना बनाएर जेलमा कोच्ने काम गरेको आरोप लगाए ।

नेता ढकालको रिहाईको लागि आफूहरूले शान्तिपूर्ण धर्ना र जुलुस गरिरहेको बताउँदै यति गर्दापनि रिहाई नगरे कडा आन्दोलनमा उत्रिने उनले चेतावनी दिए ।

गत कात्तिक २० गते कुकुर तिहारको दिनमा कुकुरको टाउको जोडिएको फेसबुकवालमा आएको फोटो सेयर गरेको आरोपमा पक्राउ परेका काभ्रेका १६ वर्षीय ढकालले अञ्जानमा सेयर भएको भनेर माफि माग्दासमेत हिरासतमा राखिएको भन्दै सभापति महरले तत्काल रिहाई गर्न सरकारसँग माग गरेका छन् ।

‘कात्तिक २० गते अरुले हालेको फोटो सेयर गरेका नेविसंघका नेतालाई सरकारका सञ्चारमन्त्री गोकुलप्रसाद बाँस्कोटाको ठाडो आदेशमा प्रक्राउ गर्न लगाईएको छ’, उनले भने, ‘अञ्जानमा भएका कुरालाई समेत यति ठूलो विषय बनाएर सरकारविरुद्ध आलोचना गर्दा सहन नसक्ने स्थितिमा पुगेको प्रमाणित गरेको छ ।’

अध्यक्ष महरले नेविसंघका नेता पक्राउको विरोधमा यही कात्तिक २५ र २६ गते काभ्रेका सम्पूर्ण विद्यालय बन्द गर्ने संघर्षको कार्यक्रम घोषणा गरेका छन् ।

नेविसंघ केन्द्रीय समितिले २६ गते ७७ वटै जिल्लामा प्रधानमन्त्रीको पुत्ला दहन गर्ने र २८ गते सबै जिल्ला सदरमुकाममा २ घण्टा चक्का जाम गर्ने कार्यक्रमहरू सार्वजनिक गरिएको छ ।

Published : Saturday, 2018 November 10, 4:46 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया