नेकपाको तल्लो तहसम्मै समानान्तर कमिटी, कार्यकर्तामा निराशा

काठमाडौं । एमाले र माओवादी केन्द्रबीच पार्टी एकता भएको पाँच महिना बितिसक्दा समेत नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को तल्लो तहसम्म एकीकृत संरचना बन्न सकेको छैन ।

नेकपाको केन्द्रीय सचिवालयबाहेक कुनै सांगठनिक संरचना सक्रिय छैनन् । यसले गर्दा नेकपाका कार्यकर्तामा निरासा छाएको छ ।

तल्लो तहसम्म पूर्वएमाले र पूर्वमाओवादी केन्द्रका अलग अलग कमिटीहरू यथावत छन् ।

केन्द्रमा स्थायी समिति र केन्द्रीय कमिटी बनेका छन् । दुबैको बैठक बस्न छाडेको लामो समय भइसकेको छ । दुवै कमिटी पार्टीको मुख्य राजनीतिक निर्णय र छलफल गर्ने थलो हुन् । पाँच महिनामा स्थायीका दुई र केन्द्रीय कमिटीको एउटा बैठक बसेका छन् ।

बैठक नबोलाएको भनेर अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल प्रचण्डको आलोचना पनि भएको छ ।

स्थायी कमिटी सदस्य योगेश भट्टराईले सरकार र पार्टीबीचको सम्बन्ध नै टुटेको भन्दै सरकारका कामलाई पनि फाइदा नभएको बताए ।

एकतापछि प्रदेशको नेतृत्व तोक्ने काम मात्र भएको छ । प्रदेश, जिल्ला कमिटी बनाउने, सबै तहको एकीकरणको अन्तिम स्वरूप तयार गर्ने काम अल्झेको अल्झै छ ।

एकतासम्बन्धी प्रस्ताव तयार पार्न महासचिव विष्णु पौडेल र सचिवालय सदस्य रामबहादुर थापाको कार्यदल बनाइएको छ । कार्यदलले सबै प्रदेशका इन्चार्ज, सहइञ्चार्ज, अध्यक्ष र सचिवसँग छलफल गरे पनि अन्तिम प्रस्ताव दिन सकेको छैन ।

कम्तीमा स्थायी समिति र केन्द्रीय कमिटी क्रियाशील हुँदा सरकारलाई धेरै सहयोगको वातावरण बन्ने केन्द्रीय सदस्य बद्रीप्रसाद न्यौपानेको भनाइ छ । केन्द्रीय कमिटी ४ सय ४५ सदस्यीय छ । स्थायी समितिमा ४५ सदस्य छन् ।

Published : Monday, 2018 November 12, 11:16 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया