नेकपाका यी सांसदको गाडीले काठमाडौंमै भेट्यो दनक, बालबाल बचे दुलाल

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रदेश ३ का सांसद गणेश दुलालको गाडीमा ढुंगा प्रहार गरी तोडफोड भएको छ ।

तत्कालीन एमालेबाट प्रदेश ३ को सांसद बनेका दुलाललाई भने चोटपटक लागेको छैन । प्रदेश सांसद दुलाल सकुशल छन् । गाडीमा तोडफोड भएपछि प्रदेश ३ का सांसद दुलालले प्रहरीलाई खबर गरेका थिए ।

काठमाडौं महानगरपालिका वडा नं. ६ बौद्ध महांकालको पानीट्याङकी नजिक सडकमा दुलाल सवार गाडीमा पासाङ दोर्जे शेर्पाले ढुंगा प्रहार गरेको महानगरीय प्रहरी कार्यालय रानीपोखरीकी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक पूजा सिंहले जानकारी दिइन् ।

‘गाडी चलाउने क्रममा साइड दिने र लिने विषयमा भनाभन हुँदा पासाङ दोर्जे शेर्पाले ढुंगा प्रहार गरेर गाडीको सिसा फुटाएका हुन्’, सिंहले जानकारी दिँदै भनिन्, ‘चिनेर गाडीमा ढुंगा प्रहार भएको देखिदैन । शेर्पाले डिप्रेशनको औषधि सेवन गरेको पाइएको छ ।’

प्रदेश ३ का सांसद दुलाल बा १९ च ४९८ नम्बरको गाडीमा सवार थिए । शेर्पाले काठमाडौं रामहिटी पिपलबोट बस्ने वीरबहादुर लामाको बा ३ च ९७१९ नम्बरको गाडीमा पनि ढुंगा प्रहर गरेर क्षति पुर्‍याइदिएका छन् ।

उदयपुर जिल्लाको लामिटार घर भई हाल काठमाडौं महानगरपालिका वडा नं. ६ महांकाल बस्दै आएका २० वर्षीय शेर्पालाई महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको टोलीले पक्राउ गरेको वरिष्ठ उपरीक्षक सिंहले बताइन् ।

शेर्पाले प्रहार गरेको ढुंगा लागेर बा १९ च ४९८ नम्बरको गाडीको आगाडिको शिशा चर्केको छ । अर्को बा ३ च ९७१९ नम्बरको गाडीको पनि आगाडिको शिशा फुटेको छ ।

शेर्पालाई बा ४४ प २७७१ नम्बरको डिस्कभर मोटरसाईकल सहित नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भैरहेको सिंहले जानकारी दिइन् ।

Published : Monday, 2018 November 12, 7:04 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया