‘कम्युनिस्ट सरकार सूचना लुकाएर अधिनायकवाद ल्याउन चाहन्छ’

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता गगन थापाले कम्युनिस्ट प्रधानमन्त्री खड्गप्रसाद ओलीले संविधानको खिलापका गतिविधि गरिहेको आरोप लगाएका छन् ।

राष्ट्रिय समाचार समितिको नेपाल प्रेस युनियनको प्रतिष्ठान शाखाको बिहीबार काठमाडौंमा आयोजित अधिवेशनलाई सम्बोधन गर्दै कांग्रेसका केन्द्रीय सदस्य थापाले ओली आफैंले संविधानमाथि प्रश्न उठाउने काम गरिरहेको आरोप लगाए ।

‘संविधानको संरक्षकबाटै आफूमाथि प्रश्न उठ्ने काम भैरहेको छ’, उनले भने, ‘संविधान विपरितका गतिविधि रोकिनुपर्छ ।’

कांग्रेसका केन्द्रीय सदस्य थापाले मन्त्रिपरिषदको निर्णय सार्वजनिक नगर्ने सरकारको पछिल्लो निर्णय संविधानमाथि प्रश्न उठाउने गरी आएको बताए । उनले यस्ता गतिविधि नदोहोर्‍याउन कम्युनिस्ट सरकारलाई चेतावनी दिएका छन् ।

‘संविधान कार्यान्वयनका लागि नागरिकको विश्वास आर्जन गर्नुपर्ने बेला प्रधानमन्त्री केपी ओलीका गतिविधि त्यस विपरीत भइरहेका छन्’, उनले भने ।

थापाले संविधानको मूल मर्मअनुसार गतिविधि नगरेकै कारण अहिले संविधान विरोधीहरूले खेल्ने ठाउँ पाएको बताएका छन् । ‘यो सरकार काम गर्न सकेको छैन । गफ मात्रै धेरै भयो’, उनले भनेका छन् ।

‘जनताको अपेक्षा अनुसार काम गर्नुपर्छ’, थापाले चेतावनी दिँदै भने, ‘यो सरकारलाई जनताले मत दिएका छन् काम गर्दैन भन्ने छुट छैन ।’

नेपाल पत्रकार महासंघका उपाध्यक्ष विपुल पोखरेलले कम्युनिस्ट सरकारले सूचना संकलनमा अवरोध गरेर नागरिकको अधिकार कटौती गर्ने अभ्यासमा लागेको दाबी गरे ।

‘कम्युनिस्ट सरकारले कहिल्यै पनि अग्रमन चाहँदैन । जहिले पनि नागरिकका अधिकारलाई दमन गर्न चाहन्छ’, पोखरेलले भने, ‘कम्युनिस्टहरू पश्चगनमै जान चाहन्छ । मिडियाको अधिकार कटौती गर्नु भनेको जनताको अधिकार कटौती गर्नु हो । पत्रकारहरूका लागि यो विषय सैह्य छैन ।’

महासंघका उपाध्यक्ष पोखरेलले कम्युनिस्ट सरकारका गतिविधि र हर्कतले अधिनायकवादतर्फ जान थालेको आभाष भैरहेको उल्लेख गरे । उनले भने, ‘पत्रकार महासंघ स्वतन्त्रताको पक्षमा छ । अहिले पनि स्वतन्त्रताकै पक्षमा आन्दोलनमा छौं । यो विषयमा सम्झौता हुँदैन ।’

Published : Thursday, 2018 November 15, 5:59 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया