बाँकेको नरैनापुरमा कांग्रेसको भव्य आमसभा, गाउँ छिरे ठूला नेताहरु

काठमाडौं । प्रदेश र प्रतिनिधि सभा एवम् स्थानीय तहको निर्वाचनपछि सानो आकारमा खुम्चिएको नेपाली कांग्रेसका नेताहरुले फेरि आफ्नो पुरानो बर्चश्व फिर्ता गर्न दिनरात नभनी गाउँगाउँ पुगेर कार्यकर्तालाई संगठित गरेका छन् ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहितका शीर्ष नेता र केन्द्रीय सदस्यहरुले गाउँगाउँका कार्यक्रमहरुलाई विशेष ध्यान दिने गरेका हुन् । सभापति देउवाले पनि राजनीतिक समितिको सुझाव लिने क्रममा विभिन्न स्थानमा पुगेर नेता कार्यकर्तासँगै भेटेर सरसल्लाह र परार्मश गरेका छन् ।

यसैबीच, कार्यकर्ताहरुको मनोवल उच्च बनाउन बाँके जिल्लाको क्षेत्र नं. २ नरैनापुरमा शनिबार भव्य आमसभा गरिएको छ । आमसभामा नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा.शेखर कोइराला प्रमुख अतिथि रहेका थिए । डा.कोइरालाका साथै मोहम्मद अफ्ताव आलम, सञ्जयकुमार गौतम, अमरेशकुमार सिंहलगायत बाँकेका कांग्रेस नेताहरुको सहभागिता रहेको थियो ।

आमसभालाई सम्बोधन गर्दै नेपाली कांग्रेसका नेताहरुले कम्युनिस्टहरु आफ्नै कारणले नास हुने अवस्थामा पुगेको बताए । उनीहरुले कम्युनिस्टहरुको चरित्र भनेको सर्वसाधारण जनतालाई झुठ बोलेर जितेर आफ्नो व्यक्तिगत स्वार्थपूर्ति गर्ने कार्यमात्रै रहेको बताएका थिए ।

उता, नेपाली कांग्रेसका केन्द्रीय सदस्य दीपक गिरीले आफ्नो गृहजिल्ला दाङमा नेता कार्यकर्ता भेटघाटलाई तीब्र बनाएका छन् । उनले कांग्रेसले निर्वाचनका बेला बेहोर्नु परेको धक्कालाई भुल्ने गरेर सांगठनिक कार्यक्रमहरु गर्दै आएका छन् ।

महामन्त्री डा.शशांक कोइराला, रामचन्द्र पौडेल, गगन थापा, विजयकुमार गच्छदार, प्रकाशमान सिंहसहितका अधिकांश नेताहरुले नेता कार्यकर्तासँगको भेटघाट र सांगठनिक कार्यमा महत्व दिइएका छन् ।

Published : Saturday, 2018 November 24, 6:18 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया