कांग्रेसभित्र यी चार शीर्ष नेताहरूको यस्ता छन् व्यक्तिगत स्वार्थ

काठमाडौं । कांग्रेसको राजधानीमा जारी महासमिति बैठकमा शीर्ष र प्रभावशाली भनिने नेताहरुको पद सुरक्षित गर्ने बहानाका कारण भाँडभैलो भएको छ ।

पार्टीको विधान अधिवेशन भनेर चिनिएको महासमिति बैठकमा पार्टीले राष्ट्रिय राजनीति, सांगठानिक संरचना र विगतको क्रियाकलापबाट आगामी दिनमा लिनुपर्ने नीतिका बिषयमा छलफल गर्न छाडेर नेताहरू आफ्नो पद सुरक्षाको लागि महासमिति बैठकमा भाँडभैलो मच्चाउन लागिपरेका छन् ।

मुलुक संघीय संरचनामा गएपछि पार्टीको विधानलाई सोही बमोजिम बनाउने मुख्य उद्देश्यले जिल्ला सभापतिहरुको गत असारमा हेटौंडामा भएको सम्मेलनले पारित गरेको माग बमोजिम विधान संशोधन मुख्य उद्देश्य राखेको महासमिति बैठक अन्योल र हल्लाखल्लामा परिणत भएको छ ।

कांग्रेस सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा. शशांक कोइराला र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले आफू र आफ्नो गुटको सुरक्षा गर्न र पार्टीमा प्रभाव जमाउने उद्देश्यले बिधान संशोधन आफू अनुकूल हुनुपर्ने अडान राखेका कारण महासमिति बैठक नै भेला र जमघटमा परिणत भएको छ ।

सभापति शेरबहादुर देउवा पदाधिकारी र केन्द्रीय सदस्यमा मनोनितको सख्या बढी बनाउन चाहन्छन भने पौडेल, सिटौला र कोइरालाहरु पदाधिकारी सबै पदमा निर्वाचन र केन्द्रीय कार्य समितिमा १० वा १५ प्रतिशतभन्दा बढी मनोनीत गर्न नहुने पक्षमा आडन लिनुको कारण आफू र आफ्नो गुटको संरक्षण नै मूल ध्येय वा उदेश्य रहेको देखिन्छ ।

सभापति देउवा पदाधिकारीको संख्या हालको भन्दा बढाउन चाहँदैनन । पदाधिकारीको संख्या बढाएमा संस्थापनइत्तरका नेताहरु जो पदाधिकारी वा नेतृत्वको लागि प्रतिष्पर्धी देखिएका छन्, उनीहरुको व्यवस्थापन भएमा आफूबिरुद्ध एकजुट हुने उनको बुझाई छ ।

यता बरिष्ठ नेता रामचन्द्र पौडेल, कोइराला र सिटौलाको बुझाई भने जति धेरै पदाधिकारी भयो, त्यति नै आफूहरुका नेताको व्यवस्थापन हुने र देउवालाई आगामी २६ महिना भित्र हुने महासमितिमा हराउन वा धुलो चटाउन सकिने आंकलन छ ।

देउवाको गुटबाट प्रत्यक्ष उम्मेदवार बनेर पदाधिकारीमा चुनाव जित्ने ल्याकत राख्ने कुनै नेता छैनन् । यूवा नेता विश्वप्रकाश शर्मा सम्भावित लोकप्रिय र चर्चित भए पनि उनलाई देउवानिकटकै अन्य नेताहरुले पदाधिकारीमा स्वीकार गर्ने देखिदैन ।

देउवा आफ्नो गुटका पदाधिकारीका आकांक्षीलाई व्यवस्थापन गर्न आफूलाई सभापतिमा पुनः जिताएमा मनोनीत गर्ने आश्वासन दिने रणनीतिमा छन् ।

देउवा प्यानलबाट उपसभापतिमा चुनाव लड्न हालका दुई उपसभपाति विमलेन्द्र निधि र विजयकुमार गच्छदारलाई सजिलो छैन । गच्छदार एक वर्षअघि मात्र फोरम लोकतान्त्रिकसहति कांग्रेसमा प्रवेश गरेका हुन् ।

उनको संगठनमा पकड देखिँदैन । अर्का उपसभपाति विमलेन्द्र निधि संस्थापन विरोध समूहको तारो नै बनेका छन् । उनको सम्वन्ध देउवापक्षधर अन्य नेतासँग पनि सुमधुर छैन । महासमिति बैठक उद्घाटनको समयमा सभापति देउवा र सहमहामन्त्री डा. प्रकाशशरण महतबीचको अभिव्यक्तिलाई वाहिर ल्याएर बिबादमा पारेको भन्दै निधिप्रति महत रुष्ट बनेका छन् ।

महामन्त्री २ पदमा सहमहामन्त्री डा. महत र अर्को एक उम्मेदवारको खोजिमा देउवा छन् । महामन्त्रीमा सर्वसम्मत रुपले पूर्णबहादुर खड्कालाई उम्मेदवार बनाउन दिने पक्षमा देउवा प्यनलकै नेताहरु ज्ञानेनद्रबहादुर कार्की र बालकृष्ण खाँड छैनन् । सहमहामन्त्रीमा प्रवक्ता विश्वप्रकाश शर्मासहति खाँड, एनपी साउद र मीन विश्वकर्माले आशा गरेका छन् ।

पौडेल र सिटौला पक्षमा पनि मंगलबार भएको सहमति अनुसार कोषाध्यक्ष र प्रवक्ता एक, एक पदमा मनोनित गर्ने र वाँकी पदाधिकारी सबै निर्वाचित हुने सहमति नउल्टिए पनि समस्या देखिन्छ ।

सभापतिमा उम्मेदवार बनेका रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला पुन सभापतिका प्रमुख दाबेदार हुन् । पौडेल सभापति वा नेतृत्वका आकांक्षीलाई उपसभापति र महामन्त्री दिएर व्यवस्थापन गर्न वा मनाउने योजनामा छन् ।

सिटौला सभापतिमा प्रत्यासी भएका पौडेललाई विनासर्त सभापतिमा सघाउने पक्षमा छैनन् । उनी कि त सभापति उठ्छन या त केन्द्रीय सदस्य मात्र बन्ने छन् । स्रोतका अनुसार भावि सरकार वा संसदीय दलको नेताको स्वभाविक दाबेदार बनेका सिटौलाले सभापतिमा पौडेलसँग प्रतिष्पर्धा गरेपनि अन्य पदाधिकरी केन्द्रीय सदस्यमा प्यानल बनाएर उम्मेदवार खडा गर्न चाहन्छन् ।

सिटौला र पौडेलबीच दुवै सभापतिमा उम्मेदवार बनेमा पहिलो चरणको निर्वाचनमा सभापतिका सम्भवित उम्मेदवार शेरबहादुर देउवाले ५० प्रतिशत मत नल्याउने र प्रत्यासी बनेका पौडेल र सिटौलामध्ये दोस्रो हुनेलाई तेस्रो हुनेले सघाउने सहमति पनि बन्ने भएको छ । यस्तो प्रस्तावको खाका पूर्वसहमहामन्त्री अर्जुननरसिंह केसीले ल्याएका हुन् ।

पौडेल र सिटौला गुटलाई पनि नेतृत्वको आकांक्षीलाई व्यवस्थापनको पक्ष निकै सकसपूर्ण छ । सभापतिमा पौडेल र सिटौलाबीच सहमति भए पनि उपसभापतिमा पूर्वउपसभापति प्रकाशमान सिंह, हालका महामन्त्री डा. शशांक कोइरालाले चाहना राखेका छन् ।

उपसभापतिमा गिरिजाप्रसाद कोइराला पुत्री सुजाता कोइरालाले पनि चाहना राखेकी छन् । महामन्त्रीमा भने डा शेखर कोइराला, डा.रामशरण महत, गगन थापा प्रमुख दाबेदारको रुपमा देखिएका छन् भने सहमहामन्त्रीमा डा.मीनेन्द्रप्रसाद रिजाल, महेश आचार्य, डा. नारायण खड्का देखिएका छन् ।

अर्जुननरसिंह केसीले उपसभापतिमा चाहना गरेका छन् । तर, सहमति भए बमोजिमा दुई, दुई उपसभपाति वा महामन्त्रीमा यतिधेरै नेतालाई व्यवस्थापन गर्न संस्थापनइत्तर पक्षलाई पनि फलामको चिउरा सरह छ । यता देउवाका उत्तराधिकारीमा रुपमा चिनिएका गच्छदारलाई अर्का उपसभापति निधिले भित्रैबाट असहयोग गर्ने बुझिएको छ ।

Published : Thursday, 2018 December 20, 7:50 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया