कांग्रेस र देउवाविरुद्ध कम्युनिस्टहरूले दिएको मुद्धा खारेज

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाविरूद्ध परेको अवहेलनासम्बन्धी मुद्धा सर्वोच्च अदालतले खारेज गरिदिएको छ ।

प्रधानन्यायाधीश ओमप्रकाश मिश्र र न्यायाधीश बमकुमार श्रेष्ठको इजलासले शुक्रबार नेपाली कांग्रेस र कांग्रेस पार्टीका सभापति देउवाविरूद्ध परेको अवहेलनासम्बन्धी निवेदन खारेज गर्ने फैसला गरेको हो ।

कांग्रेसको केन्द्रीय कार्यसमितिको निर्णयले अदालतको अवहेलना गरेको भन्दै कम्युनिस्ट समर्थक अधिवक्ता हरि मैनालीले २०७३ साल चैतमा सर्वोच्च अदालतमा अवहेलनासम्बन्धी निवेदन दिए थिए ।

डिआइजी जयबहादुर चन्दलाई प्रहरी महानिरीक्षक बनाउने सरकारको निर्णय तत्कालीन प्रधानन्यायाधीश सुशीला कार्कीसहितको इजलासले बदर गरिदिएको थियो ।

सर्वोच्चको फैसलाले कार्यपालिकाको क्षेत्राधिकारमा हस्तक्षेप गरेको कांग्रेसको धारणा थियो । कम्युनिस्ट समर्थक अधिवक्ता मैनालीले कांग्रेसका सभापति देउवा र नेपाली कांग्रेस पार्टीविरूद्ध मुद्दा दिएका थिए ।

मैनालीको रिटमा पहिलो सुनुवाई गर्दै सर्वोच्चले १० दिनभित्र कारण देखाउन माग गरेको थियो ।

सर्वोच्चबाट आएको आदेशको २५ दिनपछि नेपाली कांग्रेस र तत्कालीन माओवादी केन्द्रका सांसदले तत्कालीन प्रधानन्यायाधीश सुशीला कार्कीविरूद्ध महाअभियोग प्रस्ताव दर्ता गरेका थिए ।

सर्वोच्च अदालतले उक्त प्रस्तावविरूद्ध अन्तरिम आदेश दिएपछि कार्की सर्वोच्च फर्केकी थिइन् ।

Published : Friday, 2018 December 21, 7:11 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया