कम्युनिस्टहरुको दम छैन, कांग्रेसले जम्मा गरेको पैसा बाँड्नेहरु हुन्ः गगन थापा

स्याङजा । नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगन थापाले प्रधानमन्त्री केपी ओलीले तामझामका साथ केही दिन अगाडि शुरु गरेको सामाजिक सुरक्षा कोषको कार्यक्रम कांग्रेसले नै शुरुवात गरेको बताएका छन् ।

आइतबार स्याङजाको चापाकोटमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै युवा नेता थापाले कांग्रेसको नेतृत्वको सरकारले सामाजिक सुरक्षा कोषसम्बन्धी विधेयक संसदबाट पारित गरेर कानून बनाएको बताए ।

‘कांग्रेसले सामाजिक सुरक्षा कोष लागू गर्ने काम अगाडि बढाइसकेको थियो । सरकार परिवर्तन भयो अर्को सरकारले त्यसलाई लागू गरेको छ । केपी ओलीले ल्याएको यो कुनै नौलो कार्यक्रम होइन । कांग्रेसको कार्यक्रम हो’, उनले भने, ‘केपी ओली वा जो सुकै प्रधानमन्त्री भएको भएपनि सामाजिक सुरक्षा कोषको कार्यक्रम अगाडि बढ्ने नै थियो ।’

क्रिश्चियन धर्म प्रचारकको कार्यक्रममा नेपाल सरकारलाई सहआयोजक बनाएर प्रधानमन्त्री केपी ओलीले गल्ती गरेको कांग्रेसका नेता थापाले आरोप लगाए । ‘प्रधानमन्त्रीका क्रियाकलापमा हामीलाई डर लाग्न थाल्यो’, उनले भने, ‘हाम्रा प्रधानमन्त्री अबका दिनमा केमा प्रयोग हुने हो भन्ने डर छ ।’

‘हाम्रो प्रधानमन्त्री चर्चको कार्यक्रममा जान्छन्’, उनले भने, ‘प्रधानमन्त्रीलाई ठीक ठाउँमा ल्याउने कार्य कांग्रेसको हो । प्रधानमन्त्रीका हरेक क्रियाकलापलाई कांग्रेसले निगरानी गर्छ ।’ कांग्रेस सभापतिले कम्युनिस्ट सरकारको गलत क्रियाकलापको आलोचना गर्नुपर्ने बताउँदै थापाले भने, ‘कांग्रेसका हामी नेता तथा कार्यकर्ताहरुले पनि प्रमुख विपक्षी दलको हैसियतले कम्युनिस्ट सरकारलाई सचेत र खबरदारी गर्नुपर्छ ।’

‘यो सरकारले समृद्धिको कुरा गरेको छ । वर्षसम्म पनि समृद्धि गर्न सक्दैन । योजना र कार्यक्रम नै छैन । यो सरकारले केही गर्न सकेन । दुई तीन वर्षपछि चुनावको अन्तिम वर्षहरुमा कम्युनिस्ट सरकारले युवालाई बेराजेगार भत्ता दिनेदेखि वृद्ध भत्ता बढाउनेसम्मका लोकप्रिय कार्यक्रम ल्याएर पैसा बाँड्ने थापाले बताए ।

‘पैसा ढुकुटीमा भयो भने सरकार चाउन र पैसा बाड्न बुद्धि चाहिँदैन’, उनले भने, ‘कम्युनिस्टहरुले कांग्रेसले जम्मा गरिदिएको ढुकुटी बाँडेका मात्रै हुन् । केही गरेका होइनन् ।’

देशको विकास नेपाली कांग्रेसले गरेको युवा नेता थापाले बताए । उनले देशलाई विकास गर्न र ढुकुटी बढाउन कांग्रेसको सबैभन्दा ठूलो योगदान रहेको बताए ।

‘०४८ सालमा गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री बन्दै गर्दा पञ्चायतले जम्मा १० अर्ब पैसा छाडेको थियो । तीन वर्ष गिरिजाप्रसाद कोइरालाको सरकारले राज्यको ढुकुटी ३६ अर्ब बनायो’, कांग्रेसका युवा नेता थापाले भने, ‘कांग्रेसले जम्मा गरेको त्यही पैसा एमालेका कम्युनिस्ट प्रधानमन्त्री मनमोहन अधिकारले वृद्ध भत्ता एक सय रुपियाँ दिएर बाँडेका हुन् । पैसा बाँड्ने जस मनमोहन अधिकारलाई जान्छ ।’

कांग्रेसले कलकारखाना बेचेको भनेर कम्युनिस्टहरुले लगाएको आरोपको पनि थापाले जमेर जवाफ दिएका छन् । उनले विदेशबाट लगानी ल्याएर विकास गर्नकै लागि कलकारखाना र उद्योगहरु बिक्री गरिएको बताए । त्यसपछि देशमा विकासको बाढी आएको बताए ।

‘कम्युनिस्टहरुले कांग्रेसले कलकारखाना बेच्यो भन्छन्’, थापाले चुनौती दिँदै भने, ‘कम्युनिस्टहरुको दुई तिहाईको सरकार छ । सक्छौ भने कलकारखाना सरकारले चलाएर देखाइदेओस् न । रक्सी, चुरोट, कपडा, जुत्ता, कागज आदि कलकारखानाहरु राज्यले चलाउन सक्दैन । चलाउने पनि होइन ।’ निजी क्षेत्रले उद्योगधन्दा चलायो भने मात्रै देशमा विकास हुने उनको भनाइ छ ।

कांग्रेसलाई धनीहरुको पार्टी हो भनेर कम्युनिस्टहरुले लगाएको आरोपलाई पनि युवा नेता थापाले गज्जव शैलीमा जवाफ दिएका छन् ।

‘हो कांग्रेस धनीको पार्टी हो । कांग्रेसले सबैलाई धनी बनाउन चाहन्छ । धनी बढे भने कांग्रेस मोटो हुन्छ’, उनले भने, ‘गरिव बढे भने कम्युनिस्टहरु मोटा हुन्छन् । कांग्रेसले सुकुम्वासीलाई जग्गा दिन चाहन्छ । रोजगारी दिन चाहन्छ त्यही भएर कांग्रेस धनीहरुको पार्टी बन्न चाहन्छ । नेपालबाट जति छिटो गरिवी हट्यो त्यति छिटो देश बन्छ ।’

Published : Sunday, 2018 December 23, 5:22 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया