पाँच–छ महिनापछि ओलीको सत्ता ढल्छः डा.नारायण खडका

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा प्रतिनिधि सभाका सांसद डा.नारायण खडकाले कम्युनिस्ट प्रधानमन्त्री खडगप्रसाद ओलीको ग्राफ ह्वात्तै तल झरेको दाबी गरेका छन ।

डा.खडकाले भनेका छन, ‘अहिले प्रधानमन्त्रीजीको ग्राफ वास्तवमा निकै तल झर्दो क्रममा छ । उनी मानसिकरुपमा पनि अलिकति आत्तिएको जस्तो देखिएका छन् ।’ अनलाइन खबरले बुधबार प्रकाशित गरेको डा.खडकाको अन्तर्वार्तामा भनिएको छ, ‘ओलीका अभिव्यक्तिहरूले त्यो संकेत गर्दछन् । उनको फरक गुटका मान्छेहरूले लखेट्न र खेद्न थालिसकेका छन् ।’

उनले भनेका छन, ‘एउटा कुरा म जोड्न चाहान्छु । अहिलेको विश्व एकदमै पपुलिष्ट कार्यक्रम लिएर जाने, डेलिभरी दिन नसक्ने अनि पतन हुँदै जानेखालको देखिन्छ ।’ कांग्रेसका नेता डा.खडकाले भनेका छन, ‘हंगेरीमा त्यही भएको छ । फ्रान्समा इमानुयल म्याक्रोन राष्ट्रपति निर्वाचनमा अहिलेसम्मकै सबैभन्दा लोकप्रिय मत पाएर जितेका थिए । तर, डेढ वर्षको दौरानमा यति तल झ¥यो नी उनको ग्राफ, अहिले उनी मस्ट अनपपुलर प्रेसिडेण्ट बनेका छन् ।’

अहिलेको समाज एकदमत्तै सुसुचित र उत्तेजित रहेको डा.खडकाले अन्तर्वार्तामा बताए । ‘जनताले तुरुन्तै डेलिभरी चाहन्छन । यो कुरा हाम्रो छिमेकबाटै सिक्दा पनि हुन्छ’, उनले भने, ‘नरेन्द्र मोदीजीकै लोकप्रियता घट्दो छ । अहिलेको विश्वको ट्रेण्ड नै यस्तै छ ।’

अब, आउने कुनै पनि सरकारले जे गर्न सकिन्छ ठीक्क बोल्ने र काम गरेर देखाउने मात्रै बोल्नुपर्ने उनको भनाइ छ । ‘तर, खड्गप्रसादजीले धेरै ठूला कुरा गरेर भोट लिनुभयो । उहाँले ती सबै काम गर्न सक्ने अवस्था त छैन’, डा.खडकाले भने, ‘त्यसैले उहाँको बोली र डेलिभरी मिलेन । अब ओरालो यात्रा शुरु भयो ।’

‘यिन (ओली)को नियतिचाहिँ अब ५–६ महिना अरु यसैगरी तानिन्छन् । त्यसपछि आन्तरिक वातावरण यसरी पाक्दै जान्छ कि पार्टीभित्रै कर्नरमा पार्छन्’, कांग्रेसका नेता डा.खडकाले भनेका छन, ‘अहिलेनै पूर्वएमालेका नेताहरूले पुष्पकमललाई पावर हातमा दिइहाल्न पनि सकेका छैनन् । खड्गप्रसादलाई पावर चेक गर्नको लागि माधव नेपालहरूले माओवादीसँग तालमेल गर्न सक्छन् ।’

नेकपामा माधव नेपाल कडा विकल्प नरहेको डा.खडकाको भनाइ छ । ‘कडा विकल्प पुष्पकमल नै हुन् । विस्तारै पुष्पकमलले पावर हातमा लिने अवस्था आउला’, उनले भने, ‘प्रचण्डलाई अलि–अलि बाह्य ब्याकअप पनि हुन सक्छ ।’ अहिले भारत अर्को असार साउनसम्म आफ्नै चुनावमा व्यस्त हुने भएकाले नेपालको राजनीतिमा हस्तक्षेप गर्ने पक्षमा नरहेको उनको विश्लेषण छ ।

‘अहिले बाहिरी वातावरणले तुरुन्तै राजनीतिक परिवर्तन हुँदैन’, उनले भने, ‘आन्तरिक वातावरणचाहिँ ओलीजीको विरुद्ध बनिरहेको छ । अबका दिनमा हेर्दै जाउँ । तर, उनको त्यति राम्रो हुने देखिन्न ।’

ओलीले वास्तवमा राम्रो मौका पाएको कांग्रेसका नेता डा.खडकाको भनाइ छ । ‘दुई तिहाईको नेतृत्व गर्ने अवसर विपी कोइरालापछि ओलीलेनै पाएको हो’, उनले भने, ‘ओलीले धेरै महत्वाकांक्षा देखाए । आफ्नो प्रचारमा बढी केन्द्रित भए । फोटो शहरमा टाँग्ने प्रोपोगाण्डाको भूत सवार भएको छ ।’

डा.खडकाले भने, ‘वास्तवमा दुई तिहाइको वजनलाई उनले बोक्न सकिरहेका छैनन् । दुई तिहाईको भारले उनलाई बिस्तारै थिच्दै लगेको छ ।’

‘वीपीको त ओली छेउमै पर्न सक्दैनन् । वीपीसँग त उनको तुलनै हुन सक्दैन’, डा.खडकाले भने, ‘तर पनि मैले नै गर्दा आएको त हो दुई तिहाई भन्ने परेको होला । अलि–अलि वीपी कोइरालाको करिस्म्याटिक पनि मसँग छ भन्ने उनमा परेको होला । अर्कोतिर राजा महेन्द्रको राष्ट्रको राष्ट्रवावादी सोँच पनि छ भन्ने होला । यसरी दुईटाको बीचमा म छु भन्ने भ्रममा खडगप्रसाद ओली बाँचिरहेका छन् जस्तो लाग्यो मलाई ।’

Published : Wednesday, 2018 December 26, 12:34 pm

1 प्रतिकृया प्राप्त “पाँच–छ महिनापछि ओलीको सत्ता ढल्छः डा.नारायण खडका”

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया