कसैको भर नपरौँ, कांग्रेसका लागि यी कुराहरु अहिलेदेखि गरौँः गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता एवम् केन्द्रीय सदस्य गगनकुमार थापाले राजनीति गर्ने कांग्रेसका नेताहरुको व्यापार, व्यवसाय र जीवन पारदर्शी हुनुपर्ने बताएका छन् ।

काठमाडौंमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा प्रतिनिधि सभाका सांसद समेत रहेका थापाले नेताहरुको जीविकोपार्जनका बारेमा पारदर्शी हुनुपर्ने बताए ।

‘कांग्रेसको राजनीति गर्ने नेताहरु पारदर्शी हुनुपर्छ । उनीहरुले जीविकोपार्न गर्नका लागि गरेका व्यवसाय र पेशाको जानकारी दिनुपर्छ’, उनले भने, ‘नेताले कुनै पेशा व्यवसाय गरेनन् भने विभिन्न लाञ्छनाहरु लाग्न सक्छन् । भ्रष्टाचारको कुरा उठ्न सक्छ ।’

कांग्रेसको नेतृत्वमा बनेको अहिलेको संविधानलाई कांग्रेसले महासमिति बैठकबाट विधान संशोधन गरेर कार्यान्वयनमा लगेको थापाको भनाइ छ ।

‘कांग्रेसले संविधान कार्यान्वयन गरेको छ । रक्षा गरेको छ । महासमिति बैठकबाट कांग्रेसको विधान संशोधन गरेर संविधानअुनसार चल्ने पहिलो पार्टी बनेको छ’, उनले भने, ‘नेपालको सनातन धर्मलाई संरक्षण संरक्षण गर्नुपर्छ । धार्मिक स्वतन्त्रता सबैलाई छ । सनातनदेखि चलिआएको धर्म र संस्कृतिलाई संरक्षण गर्नुपर्छ ।’

कांग्रेसका युवा नेता थापाले देशमा धर्म परिवर्तन गराउने खेलमा वर्तमान कम्युनिस्ट सरकार लागेको उनले बताए ।

‘सरकार कुनै पनि धर्मको प्रचारमा लाग्नु हुँदैन । तर यो सरकार सहआयोजक बनेर धर्म प्रचारमा लाग्यो’, थापाले भने, ‘कांग्रेसलाई ठूलो डर भैसक्यो । सरकारले संविधानलाई उल्लंघन गर्दै छ । संविधान उल्लंघन गर्दै छ भनेर । कांग्रेसले कम्युनिस्ट सरकारलाई खबरदारी गर्छ ।’

कांग्रेसलाई अहिलेदेखि नै गाउँबाट क्रियाशील बनाउनुपर्ने उनको भनाइ छ । गाउँ अधिवेशन हुँदै दुई वर्षभित्र १४औँ महाधिवेशन गर्नुपर्ने युवा नेता थापाको सुझाव थियो । अहिलेदेखि नै सदस्यता वितरण, गाउँ अधिवेशन, प्रशिक्षणका काम नगर्ने हो भने दुई वर्षभित्र महाविधेशन गर्न कठिन हुने उनले बताए ।

कांग्रेसको महासमिति बैठकले विधान संशोधन गरेर राम्रो र गतिलो सन्देश दिएको थापाले बताए । उनले संशोधित विधानलाई इमान्दारिताका साथ पालना गर्नुपर्ने बताए ।

‘नेताको मन मिल्दासम्म विधानको कुरै नगर्ने । कुरा विग्रियो भने विधानलाई उधिन्दै र विधानका कुरा गर्नु हुँदैन’, केन्द्रीय सदस्य थापाले भने, ‘कांग्रेसको विधानलाई पहिला हामी नेताहरुबाट पालना गर्नुपर्छ ।’

कांग्रेसको विधानले पदाधिकारीहरुको बैठकलाई नचिनेको थापाको भनाइ छ । तर, नेताहरुले पदाधिकारी बैठक गरेर आफू खुसी निर्णय गर्ने गरेको नेता थापाको गुनासो थियो ।

Published : Thursday, 2018 December 27, 2:06 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया