ओलीलाई कांग्रेस कहाँ छ भनेर अब देखाइदिन्छौँः बालकृष्ण खाँण

बुटवल । नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले कांग्रेसले सबै पक्षसँग छलफल गरिरहेको भन्दै कम्युनिस्ट सरकारको गलत कुराको प्रतिवाद हुने बताएका छन ।

बुटवलमा आइतबार आयोजित पत्रकार सम्मेलनमा नेता खाँणले कम्युनिस्ट सरकारलाई प्रतिपक्ष कहाँ छ त्यो देखाउने बेला आएको बताए ।

‘कम्युनिस्ट सरकारले प्रमुख विपक्षी दल देखेको छैन’, उनले भने, ‘त्यसका लागि कांग्रेसले सबै पक्षसँग छलफल गरिरहेको छ । प्रतिपक्ष कस्तो हुन्छ कम्युनिस्ट सरकारले अब देख्छ ।’

नेता खाँणले वर्तमान सरकारको सशक्त प्रतिवाद गर्ने बताए । ‘५० अर्ब माथिका परियोजना प्रधानमन्त्री कार्यालयबाट कार्यान्वयन गर्ने, विभिन्न मन्त्रालयका अधिकार प्रधानमन्त्री कार्यालयमा केन्द्रित गर्ने’, उनले भने, ‘बाइडबडी विमान खरिद प्रकरणमा भएको अनियमितता, निर्मला पन्त हत्या प्रकरण लगायतका विषय उठाएर चालु संसदमा सशक्तरुपमा आवाज उठाउने छौँ ।’

अहिलेको कम्युनिस्ट सरकार संसदीय शासन व्यवस्थाप्रति प्रतिबद्ध नरहेको उनले आरोप लगाए । उनले भने, ‘अब प्रतिपक्ष यहाँ छ भनेर देखाउने बेला आएको छ ।’

प्रधानमन्त्री र मन्त्रीहरूका अभिव्यक्ति संविधानविपरित र गैरजिम्मेवार रहेको भन्दै खाँणले सरकारलाई सच्चिन सुझाव दिएका छन ।

‘धेरै अवसर पाउँदा पनि सरकारले राम्रो काम गर्न सकेन’, कांग्रेसका नेता खाँणले भने, ‘ओली–प्रचण्डको सरकार नाच्न नजान्ने र आँगनलाई दोष दिनेजस्तै भएको छ ।’

उनले लोकतान्त्रिक पद्धति बन्दुक र बारुद पड्काएजस्तो नभएको बताए । खाँणले दुई तिहाइ बहुमतको सरकारले लोकतन्त्र बिरोधी काम गरिरहेको आरोप लगाए ।

कांग्रेसका नेता खाँणले मुख्यमन्त्री शंकर पोखरेल र सभामुख पूर्णबहादुर घर्तीको अनिच्छाका कारण प्रदेश ५ ले स्थायी राजधानी र नामाकरण तोक्न नसकेको बताए ।

खाँणले मुख्यमन्त्री पोखरेल र सभामुख घर्ती बुटवललाई प्रदेश राजधानी बनाउने पक्षमा नभएकाले ढिलाई भएको बताए ।

‘उहाँहरूलाई अर्को चुनाव बिग्रन्छ भन्ने लागेको छ, त्यसैले बुटवलको हावापानी ठीक लाग्दैन उहाँहरूलाई’, कांग्रेसका प्रमुख सचेतक खाँणले भने, ‘उहाँहरूको कार्यकालसम्म प्रदेशले स्थायी राजधानी र नामाकरण पाउँदैन जस्तो लाग्न थाल्यो ।’

Published : Sunday, 2018 December 30, 1:36 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया