देउवा र गगनको कुरा मिल्यो, तालीले भव्य स्वागत

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कम्युनिस्ट सरकारले राष्ट्रिय एकता र मेलमिलाप नचाहेको आरोप लगाएका छन ।

४३औं राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको अवसर सोमबार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सभापति देउवाले खडगप्रसाद ओली नेतृत्वको कम्युनिस्ट सरकार एकलौटी ढंगले अघि बढिरहेको बताए । उनले त्यसका विरुद्ध आन्दोलनमा जाने चेतावनी दिए ।

सरकारले कर्मचारीतन्त्रलाई समेत नेकपाको नियन्त्रणमा राख्न खोजेको देउवाले आरोप लगाए । ‘कर्मचारीको खिलाफमा सरकारले अध्यादेश ल्याएको छ’, उनले भने, ‘अब सेना र प्रहरीलाई पनि सरकारले पार्टीकरण गर्नेछ ।’

देउवाले मुलुकमा वीपी कोइरालाद्वारा प्रतिपादन गरिएको राष्ट्रिय मेलमिलापको नीति आज पनि उत्तिकै सान्दर्भिक रहेको बताए ।

प्रजातन्त्रका लागि कांग्रेसले कसैसँग सम्झौता नगर्ने उनले बताए ।

युवा नेता गगनकुमार थापाले कांग्रेस नेतृत्वको सरकारले जारी गरेको संविधानको सार्थक कार्यान्वयन गर्ने दायित्व कांग्रेसकै भएको बताए ।

उनले त्यसका लागि जिम्मेवार भएर अघि बढ्न पार्टी नेतृत्वको गम्भीर ध्यानाकर्षण गराए ।

उनले कम्युनिष्ट पार्टी नेतृत्वको वर्तमान सरकारसँग प्रजातान्त्रिक मूल्य, मान्यता र संस्कार नरहेको आरोप पनि लगाए ।

नेता थापाले वीपी कोइरालाको राष्ट्रिय मेलमिलापको नीति संविधानको सार्थक कार्यान्वयनका लागि पनि उपयोगी हुने विश्वास व्यक्त गरे ।

कार्यक्रमलाई सम्बोधन गरेका सभापति देउवा र युवा नेता थापाले कम्युनिस्ट सरकार अधिनायकवादतर्फ उन्मुख भएको भन्दै कांग्रेसले सडक र सदनबाट ठीक ठाउँमा ल्याउनुपर्ने बताएका थिए ।

कार्यक्रममा सहभागीहरूले सरकारविरुद्ध आन्दोलन गर्ने बताउँदै गर्दा सभापति देउवा र नेता थापाको अभिव्यक्तिको ताली बजाएर स्वागत गरेका थिए ।

Published : Monday, 2018 December 31, 5:13 pm

1 प्रतिकृया प्राप्त “देउवा र गगनको कुरा मिल्यो, तालीले भव्य स्वागत”

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया