कांग्रेसलाई बलिया बनाउन म तयार छुः रामचन्द्र पौडेल

गोरखा । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीको आन्तरिक एकताबद्ध बनाउन सभापति शेरबहादुर देउवाको भूमिकामा भर पर्ने बताएका छन् ।

नेपाल प्रेस युनियन गोरखाको जिल्ला अधिवेशनलाई मंगलबार उदघाटन गर्दै पौडेलले आफू एकताको लागि प्रतिबद्ध रहेको बताए ।

‘म एकताका लागि पूर्ण रुपमा प्रतिबद्ध छु । एकतालाई साकार रुप दिने कुरा पार्टी सभापतिमा भरपर्छ’, नेता पौडेलले भने, ‘पार्टी एकताको डाडुपन्यु पार्टी सभापतिको हातमा छ ।’

सभापति देउवाले गर्ने व्यवहारले नै पार्टीलाई एकताबद्ध गर्न मद्दत पुग्ने उनले बताए । उनले अहिलेसम्म पार्टीलाई एक बनाएर लैजान आफूले निरन्तर पहल गर्दै आइरहेको बताएका छन ।

पौडेलले सभापतिको पक्षपात पूर्ण व्यवहारका कारण नै पार्टी कमजोर बन्दै गरेको आरोप लगाए । ‘पार्टीलाई एकताबद्ध बनाउन सहयोगका लागि म जहिले पनि तयार छु’, उनले भने, ‘अरु बाँकी काम पार्टी सभापतिको हो ।’

पौडेलले लोकतन्त्रमा विकास हुन सक्दैन भन्नु नेकपाभित्र रहेको अलोकतान्त्रिक कुरा रहेको बताए । उनले विश्वमा भएका सबै विकास लोकतन्त्रका कारण मात्र सम्भव भएको बताए ।

सरकारको नेतृत्व गरेको दलले सबै अधिकार प्रधानमन्त्रीमा लगेर थुर्पाने कोसिस गरिरहेको आरोप उनले लगाए । उनले भने, ‘जुन प्रणालीले देशलाई अहिलेको स्थितिमा ल्याएको छ, त्यसमा सबै इमान्दार भएर लाग्नुपर्छ ।’

नेता पौडेलले भने, ‘संविधानमा बहुलवादमा आधारित संसदीय प्रणाली मान्ने कुरा उल्लेख छ । त्यसमा कसैले तलमाथि गर्न पाउँदैन ।’

Published : Tuesday, 2019 January 1, 10:24 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया