वीपी नभएको भए राष्ट्रियता धरापमा पर्न सक्थ्योः दीपक गिरी
पर्वत । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री दीपक गिरीले जननायक वीपी कोइराला नभएको भए मुलुकको राष्ट्रिय अस्तित्व धरापमा पर्ने खतरा रहेको बताएका छन् ।
४३औँ राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको अवसरमा नेपाली कांग्रेस जिल्ला कार्यसमिति पर्वतले कुश्मामा आयोजना गरेको कार्यक्रमलाई सम्वोधन गर्दै नेता गिरीले भने, ‘निर्वासनमा बसेको समयमा वीपीले हामीलाई राष्ट्र र राष्ट्रियताका बारेमा उपदेश दिनु हुन्थ्यो ।’
‘आठ वर्षसम्म निर्वासमा बसिरहँदा वीपी नेपालको राष्ट्रिय अस्तित्वबारे निकै चिन्तित हुनुहुन्थ्यो, एकथरी मानिसहरू वीपीलाई नेपाल आए झुण्डाएर मार्ने दाउमा थिए’, उनले भने, ‘सिक्किम भारतमा विलय भयो । पाकिस्तान विभाजन भएपछि नेपालको अस्तित्व धरापमा देखेर राष्ट्रको अस्तित्व बचाउँन र प्रजातन्त्रका लागि आफ्नो जीवन जोखिमा राखेर निर्वासनमा रहनुभएका वीपी कोइराला नेपाल आउनु भएको थियो ।’
कांग्रेसका नेता गिरीले भने, ‘अन्य नेताहरूलाई राष्ट्रिय अस्तित्वसामु व्यक्तिगत अस्तित्व त्यागेर राष्ट्रियताको पाठ सिकाउन लौहपुरूष गणेशमान सिंह, शैलजा आचार्य, खुमवहादुर खडका, निलाम्बर पन्थीसहित वीपी कोइराला नेपाल आउनुभएको थियो । त्यसपछि राष्ट्रियता बचेको थियो ।’
नेता गिरीले कम्युनिष्ट सिद्धान्तको मुखुण्डो ओडेको तत्कालीन समयमा नरसंहार गरी आतंक मच्चाइरहेको माओवादीलाई नेपाली कांग्रेसले मूलधारको राजनीतिमा ल्याएको बताए ।
तत्कालीन सभापति एवम् नेपाली राजनीतिका शिखरपुरूष गिरीजा बाबुको नेतृत्वमा राजनीतिक धारमा ल्याएको उनले बताए ।
नेता गिरीले माओवादी पार्टी अहिले केपी ओली नेतृत्वको सरकार र पार्टीमा विलय भएर देश र जनताको जनादेश विपरित काम गर्न थालेको बताए । उनले अब कम्युनिस्ट सरकारको अधिनायकवाद ल्याउने सोँचका विरुद्ध कांग्रेसले भद्र र सशक्त रूपमा सरकारको प्रतिकार गर्ने चेतावनी दिए ।
पूर्वमन्त्री समेत रहेका गिरीले नेपाली कांग्रेस पार्टीमा बृहत एकता भइसकेकोले स्थानीय, राष्ट्रिय र अन्तर्राष्ट्रिय तहसम्म कांग्रेसको सशक्त प्रभाव रहने बताए ।
यसमा तपाइको मत