वीपी कोइरालाको सिद्धान्तमा ‘पालग’ भए कम्युनिस्ट नेताहरू
काठमाडौं । नेपाली कांग्रेसका संस्थापक नेता वीपी कोइरालालाई विभिन्न राजनीतिक दलका नेताहरूले कुनै एक पार्टीको मात्र नेता नभई सम्पूर्ण नेपालीको सम्पत्तिका रुपमा लिनुपर्ने बताएका छन् ।
काठमाडौंमा बुधबार आयोजित कार्यक्रममा उनीहरूले मुलकको राष्ट्रियता, सार्वभौमसत्ता र प्रजातन्त्रप्रति कुनै सम्झौता नगर्ने नेता वीपी युगपुरुष व्यक्तित्व भएको बताए ।
नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले दक्षिण एशियाको तत्कालीन संक्रमणकालीन राजनीतिक परिस्थितिमा मुलुकको सार्वभौमसत्ता रक्षा गर्न वीपी कोइराला र नेता गणेशमान सिंह ज्यानको जोखिम मोलेर स्वदेश फर्किएको बताए ।
उनले वीपी कोइरालाको मेलमिलापको नीति लिएर स्वदेश फर्कदाका घटनाको स्मरण गरे गरे । । वीपी कोइरालाका कान्छा छोरा समेत रहेका कांग्रेसका महामन्त्री डा.कोइरालाले वीपीले जीवनको उत्तराद्र्धमा कांग्रेसका तत्कालीन शीर्ष नेतालाई एक भएर अघि बढेमा १० वर्षमा प्रजातन्त्र पुनःस्थापना गर्न सकिने सुझाव दिएको बताए ।
नेकपा (माले) का महासचिव सिपी मैनालीले गतिशील व्यक्तित्व वीपी कोइरालाले आन्दोलन गर्दा कम्युनिष्टको साथ लिनु नचाहे पनि कम्युनिष्टको विरोध पनि नगरेको स्मरण गरेका छन ।
मैनालीले वीपीले निर्वासनमा बस्दा भारतले भनेको मान्नुपर्ने देखेपछि राष्ट्रियता जोगाउन समर्पण नभई सहमतिका लागि स्वदेश फर्किएको बताए ।
एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी) का संयोजक डा. प्रकाशचन्द्र लोहनीले वीपी कोइराला फरक विचार र दृष्टिकोण राख्ने सबैका नेता भएको उल्लेख गरे । डा.लोहनीले वीपी कुनै एक पार्टीको नेता मात्र नभई सम्पूर्ण नेपालीको सम्पत्ति भएको बताए ।
वीपी कोइराला आफ्ना प्रतिष्पर्धी र विरोधीलाई पनि सम्मान गर्ने नेता भएको स्मरण गरे । डा.लोहनीले स्वाभिमानी र दूरदर्शी सोँच भएका नेता वीपी कोइराला नेपाल र नेपाली रहेसम्म महानायकका रुपमा रहिरहने धारणा व्यक्त गरेका छन ।
नेपाल विद्यार्थी संघका संस्थापक अध्यक्ष विपीन कोइरालाले वीपी कोइरालाको मेलमिलाप नीतिलाई कांग्रेसले अपव्याख्या गरेर गल्ती गरेको बताए । उनले कांग्रेसलाई सच्चिएर वीपीको बाटोमा हिँड्नुपर्ने सुझाव दिए ।
वीपी कोइरालाको मेलमिलाप नीतिलाई सबैले आत्मसात् गर्न सकेमात्र मुलुकका समस्या समाधान हुने विपीन कोइरालाको धारणा थियो ।
प्रतिष्ठानका अध्यक्ष राजकृष्ण आमात्यको अध्यक्षतामा भएको अन्तक्र्रिया कार्यक्रममा संस्थाका उपाध्यक्ष नारायण कोइरालाले वीपी कोइरालाको राजनीतिक दृष्टिकोण र प्रजातन्त्रका लागि गरेका संघर्षका बारेमा प्रस्तुतिसहित जानकारी गराए ।
यसमा तपाइको मत