ओलीले हत्याकाण्डका दोषीलाई काखिच्यापेपछि तरुण दल आक्रोशित

काठमाडौं । नेपाली कांग्रेसको भातृ संगठन नेपाल तरुण दलले कैलाली १ बाट निर्वाचित सांसद रेशम चौधरीलाई सपथ गराउन लागेकामा आपत्ति जनाएको छ ।

नेपाल तरुण दलका महासचिव भुपेन्द्रजंग शाहीले विज्ञप्ति जारी गरेर टीकापुर हत्याकाण्डको आरोप लागेका चौधरीलाई सपथ गराउन लागेको भन्दै आपत्ति जनाएका हुन् । उनले कम्युनिस्ट सरकारले संविधान र कानूनी राज्यको उपहास गरेको बताए ।

महासचिव शाहीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘२०७२ भदौ ७ गते टीकापुरमा भएको निर्मम र बर्बरतापूर्ण हत्याकाण्डमा मारिएका सात जना सुरक्षाकर्मी र नाबालकको हत्याको मुख्य दोषीको रुपमा कारबाही गर्नुको साटो उल्टै सम्मानस्वरुप सपथ गराउने कार्यले शान्ति सुरक्षा, दण्डहीनता र कानूनी राज्यको उपहास गरेको छ ।’

चौधरीलाई कानून विपरीत जेलबाट निकालेर सांसद पदको सपथ गराउनुले संविधान, कानूनी शासनको उलंघन हुनुका साथै लोकतान्त्रिक मूल्य मान्यता विपरीत भए पनि तरुण दलले बताएको छ ।

सरकारले सत्ता स्वार्थका लागि हत्या गरिएका निर्दोष नागरिकका परिवारलाई थप पीडा दिएको भन्दै सरकारलाई त्यसो नगर्न विज्ञप्तिमार्फत सचेत गराइएको छ ।

प्रधानमन्त्री केपी ओलीको निर्देशनमा सभामुख कृष्णबहादुर महराले चौधरीलाई बिहीबार सपथ गराउँदै छन् ।

Published : Thursday, 2019 January 3, 2:19 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया