नेविसंघद्वारा सदस्यता वितरण, ह्वात्तै बढे कार्यकर्ता
काठमाडौं । प्रमुख विपक्षी दल नेपाली कांग्रेसको भ्रातृ संठन नेपाल विद्यार्थी संघ (नेविसंघ)ले देशभर छ लाख ५० हजार नयाँ सदस्यता वितरण गरेको छ ।
बाह्रौँ महाधिवेशन नजिकिएका बेला नेविसंघले काठमाडौं उपत्यकाबाहेक ७४ जिल्लामा नयाँ सदस्यता वितरण गरेको हो ।
नेविसंघका अध्यक्ष नैनसिंह महरले नेविसंघलाई केन्द्रदेखि गाउँँ र टोलसम्म पु¥याउन नयाँ सदस्यता वितरणलाई प्राथमिकता दिएको बताएका छन ।
‘मुलुकको शिक्षा क्षेत्रमा देखिएको विकृति विसंगति हटाई आगामी निर्वाचनमा कांग्रेसको पक्षमा जनमत सिर्जना गर्न सदस्यता वितरणलाई देशभर पुर्याउन लागेका हौँ’, उनले भनेका छन ।
लामो समयको विधान र नियमावली विवादपछि विधान पास भएको नेविसंघले पुस २८ देखि ३० गतेसम्म १२औँ महाधिवेशनको तालिका तोकेको थियो ।
नेविसंघले तोकेको निर्वाचन कार्यतालिका अनुसार मंसिर २२ गतेभित्र देशभरका सबै माध्यमिक तथा उच्च माध्यमिक विद्यालयमा अधिवेशन गर्नुपर्ने, मंसिर २५ भित्र स्थानीय गाउँ नगरको अधिवेशन गर्नुपर्ने, पुस ८ भित्र उपत्यका भित्रका सबै क्याम्पस र विश्वविद्यालयको अधिवेशन गर्नुपर्ने, पुस १४ भित्र सबै जिल्लाको अधिवेशन गर्नुपर्ने र पुस २० भित्र सबै प्रदेशको अधिवेशन सम्पन्न गर्नुपर्ने रहेको छ ।
निर्वाचन आउन केही दिनमात्र बाँकी हुँदा देशभरका १५ जिल्लामा जिल्ला अधिवेशन सम्पन्न भइसकेको अध्यक्ष महरले जानकारी दिए । नेविसंघ अहिले महाधिवेशनमय हुँदै गएको उनको भनाइ छ ।
निर्धाति समयमा महाधिवेशन सम्पन्न नभए पनि छिट्टै महाधिवेशन सम्पन्न हुने गरी नेविसंघले काम गरिरहेको उनले बताए ।
यसमा तपाइको मत