कम्युनिस्टहरूको भरोसा छैन, वाइड बडी तुहाउन खोज्दै छनः तेजुलाल चौधरी

काठमाडौं । नेपाली कांग्रेसका नेता एवं सार्वजनिक लेखासमितिका सदस्य तेजुलाल चौधरीले वाइड बडी खरिद प्रकरणमा भएको भ्रष्टाचारका प्रमाणहरू हेरेर उपसमितिले आधारभूत आधारमै प्रतिवेदन ल्याएको बताएका छन ।

रिपोर्टर्स क्लव नेपालले शनिबार काठमाडौंमा आयोजना गरेको साक्षत्कारमा चौधरीले वाइड बडी घोटाला प्रकरणमा दोषी देखिएका सबैलाई कडाभन्दा कडा कारबाही हुनुपर्ने माग गरे ।

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसद र नेता तथा सरकारबाटै उपसमितिको प्रतिवेदनको विरोध भएकोमा सांसद चौधरीले आपत्ति जनाए ।

चौधरी वाइड बडी खरिद प्रकरणमा भएको अनियमितता छानविन गर्न लेखा समितिले बनाएको उपसमितिको सदस्य समेत थिए ।

सांसद चौधरीले सोमबार बस्ने लेखा समितिको बैठकले वाइड बडी खरिद प्रकरणमा उपसमितिले बनाएको प्रतिवेदनलाई सर्वसम्मत पारित गर्ने बताए । ‘नेपाली कांग्रेसकै नेता भएपनि कारबाही हुन्छ’, उनले भने, ‘पूर्वमन्त्रीद्वय जीवनबहादुर शाही र जीतेन्द्र देवको सवालमा पार्टीको तर्फबाट कुनै ढाकछोप हुँदैन ।’

कांग्रेसका सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलले पनि वाइड बडी जहाज खरिद प्रकरणमा जसले गलत गरेको छ उसलाई कडा कारबाही हुनुपर्छ भनेर सार्वजनिक रुपमा बोलिसकेको बताएका सांसद चौधरीले दोषीहरूलाई कडा कारबाही गर्नुपर्ने बताए ।

कांग्रेसका नेता एवं सांसद चौधरीले उपसमितिले प्रतिवेदन ल्याएसँगै सरकारले ३ सदस्यी उच्चस्तरीय छानबिन आयोग गठन गर्नुले ठूलो प्रश्न खडा गरेको टिप्पणी गरे । चौधरीले भने, ‘कतै उपसमितिको प्रतिवेदन त दराजमा राखिने होइन ? त्यस्तो नहोस् । कम्युनिस्ट सरकारको कार्यशैलीबाट प्रश्न उब्जिएको छ ।’

वाइड बडी विमान खरिद प्रक्रियाको पाइला–पाइलामा घोटाला भएको उनको दाबी छ । ‘वाइड बडी जाहाज खरिद घोटाला गर्ने जो कोही होस, सबैलाई कारबाही गर्नुपर्छ’, उनले भने, ‘दोषी उम्किन पाउनुहुँदैन् ।’

Published : Saturday, 2019 January 5, 6:34 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया