वामदेवलाई हराएका कांग्रेस नेताले गरे ओलीको नियतको खुलासा
काठमाडौं । नेपाली कांग्रेसका नेता तथा सांसद सञ्जय गौतमले वाइड बडी खरिद प्रकरणमा भएको घोटालाबारे लेखा समितिले राम्रो परिणाम ल्याउनुपर्ने बताएका छन ।
काठमाडौंमा शनिबार आयोजित कार्यक्रममा नेता गौतमले मिनी पार्लियामेन्टले गरेको कामलाई सरकारले बेवास्ता गरेर आफू खुसी गर्न खोजेको आरोप लगाए ।
‘सार्वजनिक लेखा समिति वा उपसमिति भनेको संसदको मिनी पार्लियामेन्ट हो’, उनले भने, ‘संसदीय समितिलाई टक्कर दिन र वाइड बडी घोटाला प्रकरण प्रभावित बनाउन कम्युनिस्ट सरकारले उच्चस्तरीय छानबिन समिति बनाएर गलत गरेको छ ।’
गौतमले कम्युनिस्ट सरकारले संसदीय समितिलाई अवरोध गर्ने गरी हस्तक्षेपकारी कदम चालेकोमा आक्रोश व्यक्त गरे ।
‘सरकारले सार्वभौम संसदलाई अंकुश लगाउने कुरा क्षम्य हुँदैन’, उनले भने, ‘लेखा समितिको प्रतिवेदनमा चित्त बुझेन भने सार्वभौम संसदमा छलफल हुनुपर्छ । तर, संसदीय समितिलाई काम गर्न नदिएर दवावमुलक काम गर्नुहुँदैन् ।’
सांसद गौतमले आफूले वाइड बडी घोटाला प्रकरणमा संसदमा विषय टेबल गराएको बताए । ‘वाइड बडी विमान खरिद प्रक्रिया नै गलत थियो’, उनले भने, ‘विमानको भारहन क्षमता नै सम्झौता गर्दा एउटा र ल्याउँदा अर्कै छ ।’
‘२४२ मेट्रिक टन हुनुपर्नेमा जहाज ल्याउँदा २३० मेट्रिक टन मात्रै छ’, कांग्रेसका सांसद गौतमले भने, ‘९ वटा ट्वाइलेट भएको किन्नुपर्नेमा ७ वटामात्रै भएको किन किनियो ?’ आफूले फेरि पनि यो विषयमा संसदमा कुरा उठाउनेपनि गौतमले जनाए ।
उनले नेपालमा भ्रष्टाचार न्यूनीकरणमात्रै नभएर पूरै समाप्त गर्नुपर्ने धारणा राखे । प्रधानमन्त्री केपी ओलीले भनेजस्तो ‘समृद्ध नेपाल, सुखी नेपाली’ बनाउनको लागि अब पुरानो धङधङीबाट हिँडेर नहुने भन्दै उनले प्रधानमन्त्री ओली नियत ठीक नभएको बताए ।
कांग्रेसका नेता गौतमले बर्दियामा तत्कालीन एमालेका उपाध्यक्ष वामदेव गौतमलाई प्रतिनिधि सभा निर्वाचनमा पराजित गरेका थिए ।
Eky dam thick ho