कम्युनिस्ट सरकार भ्रष्टाचारी नै भ्रष्टाचारीको सरकारः रामचन्द्र पौडेल
नवलपरासी । प्रमुख विपक्षी दल नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कम्युनिस्ट सरकार वाइड बडी विमान खरिदमा भएको घोटालालाई ढाकछोप गर्न सक्रिय भएर लागेको बताएका छन् ।
नवलपरासीको कावासोतीमा आइतबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै पौडेलले वाइड बडी विमान खरिदमा भएको घोटालाबारे संसदीय उपसमितिले प्रतिवेदन दिएपछि सरकारले छानबिन आयोग बनाउनु ठीक नभएको बताए ।
‘यो छानबिन समिति होइन’, उनले भने, ‘कुनै आयोग होइन, यो त ढाकछोप आयोग हो ।’
नेता पौडेलले छानबिनका लागि संसदीय समिति बनाउनुपर्ने बताए । उनले सरकार भ्रष्टाचारी नै भ्रष्टाचारीको सरकार भएको आरोप लगाए ।
नेता पौडेलले एजेण्डाको विषयमा कुरा मिलेमा सभापति शेरबहादुर देउवासँग एकता हुन सक्ने बताए ।
‘केमा एकता हो त्यो प्रष्ट हुन पर्यो’, उनले भने, ‘एकताको एजेण्डा प्रष्ट हुन पर्यो जबरजस्ती हात उठाउन लगाउँदैमा, सँगै हात समातेर फोटो खिच्दैमा पार्टी एकता हुन्छ ?’
कांग्रेसका नेता पौडेलले एकता गर्ने जिम्मा पार्टी सभापति देउवाको हातमा रहेको बताए ।
यसमा तपाइको मत