कम्युनिस्टहरूको चर्तिकलाविरुद्ध कांग्रेसद्वारा गोप्य परामर्श

काठमाडौं । प्रतिनिधि सभा बैठकमा सभामुख कृष्णबहादुर महराको कार्यशैली निष्पक्ष नभएको तथा सरकारलाई बचाउने खालको गतिविधि भएको भन्दै प्रमुख विपक्षी दल नेपाली कांग्रेसले चिन्ता जनाएको छ ।

नेपाली कांग्रेसले सभामुख महराको कार्यशैलीप्रति चिन्ता जनाउँदै सोमबार आफ्नै दलका प्रभावशाली सांसद र नेताहरूसँग सिंहदरबारस्थित दलको कार्यालयमा परामर्श गरेको छ ।

सभामुख महराले प्रधानमन्त्री ओलीको बचाउ गर्दै आइतबारको संसद बैठकमा कांग्रेसलाई प्रश्न गर्ने समय नदिएर दमन गर्न खोजेपछि कांग्रेसका सांसद र नेताहरू रिसाएका छन् ।

उता, संसदको सार्वजनिक लेखा समितिमा पनि नेपाली कांग्रेसलाई सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र प्रधानमन्त्री ओलीद्वारा आक्रमण भएको पनि कांग्रेसले चिन्ता जनाएको छ ।

स्रोतका अनुसार नेपाली कांग्रेसका मुख्य सचेतक एवम् केन्द्रीय सदस्य बालकृष्ण खाँणले आफ्नो पार्टीका सांसदहरूसँग अनौपचारिक परामर्श गरेका छन् ।

खाँणले कांग्रेसका सांसदहरूसँग कम्युनिस्टहरूले संसद र सरकारमा देखाएको चर्तिकलाको समीक्षा गरेका हुन् । मुख्य सचेतक खाँणले आगामी दिनमा सभामुखको कार्यशैली र सरकारको व्यवहारबाट संसदको बैठक चल्ने वा नचेल्नेमा भर पर्ने चेतावनी दिएका स्रोतले जनाएको छ ।

कांग्रेसले आइतबार संसदमा प्रधानमन्त्रीलाई प्रश्न सोध्न नदिएको घटना र उत्पन्न पस्थितिका विषयमा सभामुख महराले माफी माग्नुपर्ने अडान लिएको छ ।

कांग्रेसले संसदमा प्रमुख विपक्षी दललाई सत्ता पक्षले पेलेर जान खोजेको आशंका गरेको छ ।

सोमबार सिंहदरबारमा भएको अनौपचारिक बैठकमा पनि संसदमा समेत सभामुख महराले अधिनायकवादी चरित्र देखाएको चर्चा भएको एकजना सांसदले जानकारी दिए ।

संसदको सार्वजनिक लेखा समितिलाई धक्का दिने गरेर कम्युनिस्ट सरकारले वाइडी बडी घोटाला काण्ड छानविन गर्न बनाएको आयोगका विषयमा पनि कांग्रेसले परामर्श गरेको छ ।

कांग्रेसले कम्युनिस्ट सरकारले वाइड बडी घोटाला अनुसन्धान गर्न बनाएको छानविन आयोगलाई ‘शाही आयोग’सँग तुलना गरेको छ ।

नेपाली कांग्रेसले कम्युनिस्ट सरकार र सभामुख महरालाई सुध्रिने मौका रहेको भन्द आउँदा दिनमा यस्ता खालका घटना नदोहोर्‍याउन सचेत पनि गराएको छ ।

गल्ती गरेका सभामुख महराले राजनीतिक सहमति खोज्नुको साटो कांग्रेसका नेताहरूलाई बोलाएर आइतबारको घटनाका बारेमा कुनै पनि परामर्श गरेका छैनन् ।

सभामुख महरा संसदको गतिरोध समाधान खोज्नुको साटो पोखरातिर हानिएका छन् ।

संसदको बैठक बुधबार एक बजे बस्दैछ । संसद बैठक बस्नु अगाडि महराले कांग्रेसको चित्त बुझाउनु पर्ने हुन्छ । अन्यथा संसद चल्नेमा आशंका छ ।

Published : Tuesday, 2019 January 8, 11:43 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया