एनआइसी एसिया, राजेन्द्र र पुस्करको बबाल जोडी, आइजीपीको बदनाम गर्दै
काठमाडौं । एनआइसी एसिया बैंकमा १ वर्ष अगाडि भएको ह्याकिङ काण्ड प्रकरणहरु एक-एक गरे खुल्न थालेका छन् ।
२०७४ कात्तिकमा एनआइसी एसिया बैंकको सिस्टममा ह्याक भएको थियो । बैंकको करोडौं रकम विदेशीहरुले ह्याक गरेर लगेका थिए । ह्याकिङ काण्डले एनआइसी एसिया बैंकका ठूलो विवाद समेत भएको थियो । त्यो विवादले अहिले पनि बेलाबेला तनाव दिने गरेको छ ।
बैंकका कर्मचारी र व्यवस्थापन पक्षको चरम लापरबाहीले ह्याकिङ काण्ड भएको एनआइसी एसिया बैंकले तयार पारेको प्रतिवेदनमा उल्लेख छ ।
ह्याकिङ प्रकरणपछि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले छानबिन गरेको थियो ।
छानबिनमा बैंक दोषी देखिएपछि नेपाल राष्ट्र बैंकलाई सेटिङ मिलाई गल्ती ढाकछोप गरेर आफू अनुकूल प्रतिवेदन तयार पार्न बैंक व्यवस्थापनको नेतृत्वले ठूलो रकम खर्च गरेको कुरा अहिले उठेपछि त्यो विवाद पुनः एनआइसी एसिया बैंकमा बल्झिएको स्रोतले जनाएको छ ।
बैंकका अध्यक्ष तुल्सीराम अग्रवालको समूहले सिआईबी र राष्ट्र बैंकमा सेटिङ मिलाउनका लागि बोर्ड सदस्य राजेन्द्र अर्याललाई जिम्मा लगाएको चर्चा छ । ती सदस्यले सिआईबी र राष्ट्र बैंकलाई मिलाउने नाममा करोडौं रकम बैंकबाट निकालेको एनआइसी एसिया बैंक स्रोतले जनाएको छ ।
एनआइसी एसियाका बोड सदस्य तथा त्रिकोण एडभर्टाजिङका प्रमुख अर्याल र सीआइबीका तत्कालीन प्रमुख पुस्कर कार्की (हालका एआइजी) बालुवाटारस्थित सेतो दरबार रेष्टुरेन्टमा बसी ह्याकिङ प्रकरण मिलाउन बैंकका अध्यक्ष तुलसीराम अग्रवालसहितका सदस्यहरुसँग रकम मोलमोलाई गरेको थियो ।
सीआइबीमा बयान दिइरहेका तुल्सीराम अग्रवालको समूहलाई अर्यालले प्रहरी मिलाउन भनेर १० करोडको लेनदेन गरेको स्रोतले जनाएको छ ।
सीआइबीका कार्कीलाई ७ करोड दिएर अरु अर्यालले चप्काएको आरोप छ । बैंकको भर्खरै सम्पन्न साधारणसभामा त्यो खर्चको बारेमा कुरा उठेपछि अग्रवालको समूहले जवाफ दिन सकेको थिएन ।
अर्कोतिर बैंकभित्रको कमजोरीलाई लुकाउन अग्रवालको समूहले नाटकीय रुपमा भारतबाट केपीएमजी कम्पनीको टिम झिकाएर ठूलो रकम खर्च समेत गरेको थियो ।
केपीएमजीले बुझाएको प्रतिवेदनमा घटनामा बैंक कर्मचारी र व्यवस्थापनलाई चोख्याएर बैंकको साइबर सुरक्षामा प्रश्न उठाइएको थियो ।
हालका एआईजी पुष्कर कार्की सिआईबीमा प्रमुख छँदा सेटिङ मिलेपछि सोही प्रतिवेदनको आधारमा विदेशी बैंकमा रहेका ८ देशका १३ खातावालालाई विपक्षी बनाई पाटन उच्च अदालतमा सरकारवादी मुद्दा दर्ता भएको थियो ।
एनआइसी एसिया बैंकको व्यवस्थापन पक्ष र कुनै पनि कर्मचारीलाई भने सामान्य बयान मात्र लिई मुद्दा नचलाई छाडिएको थियो ।
पुष्कर कार्की र बैंक व्यवस्थापनको ठूलो स्वार्थ लुकेको र राजेन्द्र अर्याललले सेटिङ मिलाएको एनआईसी बैंक स्रोतको दावी छ ।
त्यतिखेर निष्पक्ष रुपमा छानविन हुनुपर्छ भनेर माग गर्ने केही कर्मचारीलाई बैंकले सूचना बाहिर जाने डरले उल्टै जागिरबाट हटाएको थियो ।
केपीएमजीको रिपोर्टलाई आधार मान्ने हो भने एनआइसी एशिया बैंकका कर्मचारी र व्यवस्थापनलाई सर्वसाधरणको अर्बौं निक्षेपमा खेलवाड गरेको स्पष्ट देखिन्छ ।
ह्याकिङ प्रकरणमा मोहन रञ्जित, प्रद्युम्न नेपाली र प्रतीना प्रधानको युजर आइडी र पासवर्ड प्रयोग गरी ३१ वटा स्वीफ्ट म्यासेजमार्फत् बैंकको ४६ करोड ५६ लाख ५० हजार ५ सय ५ रुपियाँ रकमान्तर भएको थियो ।
एनआइसी एशिया बैंकको ह्याकिङका बारेमा सीआइबीले पुनः अनुसन्धान गरी बैंकको व्यवस्थापनमाथि कारबाही गर्नुपर्ने आवाज पनि उठेको छ ।
सीआइबीले निष्पक्ष रुपमा छानबिन गर्ने हो भने एनआइसी बैंकको अपराध कर्म खुल्नेछ ।
बैंक ह्याकिङ हुनु केही दिनअघि नै बैंकमा प्रयोग हुने सबै इमेलहरुमा आक्रमण भएको थियो । बैंकको व्यबस्थापन पक्षले समयमै सूचना पाउँदा पनि अनुसन्धान नगरी चरम लापरवाही गरेपछि व्यवस्थापन पक्ष शंकाको घेरामा परेको थियो ।
सिआइवीका तत्कालीन प्रमुख पुस्कर कार्की र बैंकका संचालक राजेन्द्र अर्यालको डिजाइनमा बैंकको व्यवस्थापन र कर्मचारीलाई अनुसन्धानको दायरामा ल्याए जस्तो गरी उल्टै उनीहरुको कमजोरी लुकाउन भूमिका खेलेका कारण घटना शंकास्पद बनेको थियो ।
आइजीपीको बद्नाम
त्रिकोण एडभरटाइजिङका मालिक समेत रहेका राजेन्द्र अर्याल र नेपाल प्रहरीका एआइजी पुष्कर कार्की क्लासमेड साथी हुन् ।
आइजीपीको दौडका बेला कार्कीले सर्वेन्द्र खनालका विरुद्ध समाचार लेखाउन राजेन्द्र अर्याललाई प्रयोग गरेको स्रोतले जनाएको छ ।
अहिले पनि राजेन्द्र अर्यालमार्फत एआइजी कार्कीले आइजीपी खनालविरुद्ध समाचार लेखाउने गरेको स्रोतले जनाएको छ ।
अर्यालले ठूला मिडियो हाउसलाई विज्ञापन दिने बेला आइजीपी खनालका विरुद्ध समाचार लेख्नुपर्ने भनेर पूर्वसर्त राखेर दिने गरेको आरोप छ ।
स्रोतले भन्यो, ‘एनआइसी एसिया बैंकको विज्ञापन ठूलो मिडिया हाउसलाई दिँदा आइजीपी खनालविरुद्ध लेख्नुपर्ने पूर्वसर्त रहने गरेको छ ।’
यसमा तपाइको मत