मालिकार्जुनमा बस्यो नेविसंघको पहिलो बैठक
प्रकाशचन्द्र भट्ट
दार्चुुला । नेपाल विद्यार्थी संघ दार्चुलाको नवनिर्वाचित नयाँ कार्यसमितिको पहिलो बैठक शैल्यशिखरको काखमा रहेको मालिकार्जुन गाउँपालिकाको केन्द्र शंकरपुर क्याम्पस पस्तीमा सम्पन्न भएको छ ।
नवौँ जिल्ला अधिवेसनबाट चयन भएको कार्यसमितिको पहिलो बैठकले संगठन सुदृढीकरणसहितका विभिन्न निर्णयहरू गरेको छ ।
बैठकले कार्यसमितिलाई पूर्णता पनि दिएको छ । नेविसंघ दार्चुलाको बैठक महिनाको २ पटक बस्ने दीपक खातीले जानकारी दिए ।
नेपाल विद्यार्थी संघको विधान २०२७ को सातौ संसोधन २०७५ को धारा २ (ख) मा व्यवस्था भए बमोजिम जिल्ला प्रतिनिधिबाट दीपक खाती, भावना सिंह, मन्जु भट्ट, गणेश बडाल, विमला पाल, गोविन्द ठगुन्ना, अशोक धामी, पुस्कर नाथ, राजेन्द्रप्रसाद जोशी र नरेन्द्र बोहरा मनोनीत गरिएको खातीले जानकारी दिए ।
नेविसंघ दार्चुलाले मनोनीत तथा आमन्त्रित सदस्य मनोनयन गरेसंगै कार्यसमितिले पूर्णता पाएको छ ।
नेविसंघले विभिन्न सूचना सम्प्रेषण गर्नको लागि नेविसंघ सदस्य दीपक खातीलाई प्रवक्ताको जिम्मेवारी तोकिएको छ ।
नेपाल विद्यार्थी संघले सामाजिक कुरीति र कुसंस्कारविरुद्ध विभिन्न जनचेतानामुलक अभियान चलाउने समेत जनाएको छ ।
गुणस्तरीय शिक्षाका लागि विद्यार्थीको हितमा काम गर्ने जनाइएको छ । अशक्त, अपांग, जेहेनदार, टुहुरा विद्यार्थीका लागि स्थानीय सरकार, राजनीतिक दल, सरकारी तथा गैरसरकारी संघसंस्थासंग सहकार्य गरी आर्थिक सहयोग उपलब्ध गराउन पहल थाल्ने समेत निर्णय भएको छ ।
सार्वजनिक यातायातको भाडामा विद्यार्थीले पाउने भनिएको ४५ प्रतिशत् छुटको व्यवस्थाका लागि यातायात व्यवसायी तथा स्थानीय प्रशासनसंग छलफल गर्ने समेत बैठकले निर्णय गरेको छ ।
नेविसंघलाई सशक्त, सबल र सक्षम बनाउन विभिन्न संगठनात्मक कार्यक्रम विस्तार गरी सदस्यता वितरणलाई पनि निरन्तरता दिइनेछ ।
नेविसंघले नवौँ जिल्ला अधिवेसनलाई सभ्य भब्य रुपमा सम्पन्न गर्न प्रत्यक्ष अप्रत्यक्ष रुपमा सहयोग गर्ने प्रतिनिधि सभाका सांसद दिलेन्द्रप्रसाद बडू, नेपाली कांग्रेस दार्चुलाका सभापति ललित सिंह बोहरा, नेविसंघ केन्द्रीय प्रतिनिधि गणेश भट्ट सबैमा धन्यवाद ज्ञापन गरेको छ ।
मंगलबारकै बैठकमा नवनिर्वाचित पदाधिकारीहरुलाई मालिकार्जुन गाउँपालिकाका अध्यक्ष नरेन्द्रसिंह धामीले स्वागत तथा बधाई ज्ञापन गरेका थिए । बैठक नेविसंघ जिल्ला अध्यक्ष रमेश भट्टको अध्यक्षतामा बसेको थियो ।
यसमा तपाइको मत