शंकर पोखरेल मुख्यमन्त्री भएको प्रदेशमा करोडौँको भ्रष्टाचार

बुटवल । शंकर पोखरेल मुख्यमन्त्री रहेको प्रदेश ५ मा गाडी खरिदमा ठूलो घोटाला भएको छ ।

प्रदेश ५ अन्तर्गत मन्त्रालय र प्रदेशसभा सचिवालयले खरिद गर्दै आएका सवारीसाधनमा अनियमितता भएको हो । गाडी खरिदमा अनियमितता भएपछि प्रमुख विपक्षी दल नेपाली कांग्रेसले छानविन गर्ने भएको छ ।

प्रदेश सरकार र सचिवालयले २५ करोड रुपियाँभन्दा बढीका सवारीसाधन खरिद गरेको छ ।

एकै कम्पनीबाट किनेका एकै प्रकारका सवारीसाधनको मूल्य भने मन्त्रालयअनुसार फरक पाइएको छ । स्रोतका अनुसार एउटा गाडीमा ३ लाख ४० हजारदेखि ४ लाख ४४ हजार रुपियाँसम्म मूल्यमा फरक देखिएको छ ।

प्रदेशसभा सचिवालयले १३ टाटा स्ट्रोम भीएस फोर हवील गाडी खरिद गरेको छ । टाटा कम्पनीको नेपाल विक्रेता सिप्रदी ट्रेडिङ कम्पनीमार्फत खरिद गरिएका हुन् । प्रतिगाडी ७१ लाख ९४ हजार ९ सय ९९ रुपियाँमा सम्झौता गरिएको छ ।

उत्पादन कम्पनी, उत्पादन मिति र मोडल एकै भए पनि मन्त्रालयले खरिद गरेको गाडीको मूल्य ७२ लाख ९९ हजार रुपियाँ छ । उस्तै प्रकृतिको गाडी सामाजिक विकास मन्त्रालयले भने ७२ लाख ४२ हजारमा किनेको छ ।

प्रदेशका भौतिक पूर्वाधार विकास र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले पनि टाटाकै गाडी खरिद गरेका छन् । मूल्य फरक फरक छ ।

प्रदेश सरकारले खरिद गरेका टाटा स्ट्रोम गाडी बजार मूल्यभन्दा ३ लाख ४० हजारदेखि ४ लाख ४५ हजारसम्म फरक मूल्यका छन् ।

टाटाकै स्थानीय विक्रेता रहेको सफल अटो इन्टरनेसनलले स्थानीय गाडी खरिदकर्तालाई भने ६८ लाख ५५ हजारमै उक्त गाडी उपलब्ध गराउँदै आएको छ । त्यही मूल्यमा कम्पनीले पहिलो वर्षको बिमा र गाडीको भित्री डेकोरेसनसमेत गर्छ ।

मन्त्रालय र प्रदेशसभाले खरिद गरेका सबै गाडीको बिमा र डेकोरेसन आफैंले गर्नुपर्ने सम्झौतामा उल्लेख छ ।

गाडी खरिदमा सबैभन्दा बढी प्रदेशसभाले झन्डै ८ करोड, मुख्यमन्त्री कार्यालयसहित अन्य मन्त्रालयले १८ करोडको हाराहारीमा खर्च गरेका छन् ।

भारतमै असफल भएको र नेपालमा बिक्री नहुने गाडीलाई प्रदेश सरकार र प्रदेशसभा सचिवालयमा चलाखीपूर्ण रूपमा भित्र्याइएको छ । सबै गाडी सार्वजनिक खरिद ऐनअनुसार भएका छन् ।

सार्वजनिक खरिद ऐनअनुसार २० लाख रुपियाँभन्दा बढीको कारोबारमा सरकारी निकायले ई–बिडिङमार्फत गर्न पाउँछ ।

प्रदेशसभा सचिवालयले बजार मूल्यभन्दा बढीमा गाडी खरिद गरेको गुनासो आएपछि प्रदेशसभाको सार्वजनिक लेखा समितिले छलफल सुरु गरेको छ । समिति सभापति डिल्लीबहादुर चौधरीले आफूले पनि नयाँ गाडी चढेको र अहिले नै समस्या देखिन थालेको बताए ।

Published : Wednesday, 2019 January 9, 11:55 am

2 प्रतिकृया प्राप्त “शंकर पोखरेल मुख्यमन्त्री भएको प्रदेशमा करोडौँको भ्रष्टाचार”

  • नक्कली रास्ट्रबाद बिचित्र को लुके को चरित्र

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया