सरकार र सभामुखलाई कांग्रेसले माफी दियो

काठमाडौं । प्रमख विपक्षी दल नेपाली कांग्रेसले आफूले उठाएको मागलाई सभामुख कृष्णबहादुर महराले सम्बोधन गर्ने आश्वासन दिएपछि संसद चल्न दिएको छ ।

बुधबार संसद शुरु हुनेवित्तिकै नेपाली कांग्रेसका मुख्य सचेतक बालकृष्ण खाँणले प्रधानमन्त्री खड्गप्रसाद ओलीले आइतबारको बैठकमा किन जवाफ दिन नचाहेको भन्दै प्रश्न उठाएका थिए । संसदको नियमावली २१९ को ‘१’ र ‘२’ बमोजिम प्रधानमन्त्री वा मन्त्रीहरूले सम्बोधन गर्दा सांसदहरूलाई प्रश्न गर्न दिइ जवाफ दिनुपर्ने उनले बताए ।

खाँणको मागअनुसार सभामुख महराले सांसदहरूले उठाएका प्रश्नको जवाफ दिन नेपाल सरकारलाई निर्देशन दिए । महराको निर्देशनपछि कांग्रेसले सदन चल्न दिएको छ ।

प्रमुख सचेतक खाँणले आइतबारको संसदको बैठकमा संसदीय प्रक्रिया र नियमावली विपरीतका कार्य भएको बताएका छन् ।

उनले प्रमुख प्रतिपक्षहरूले संसदमा उठाएका प्रश्नहरूको जवाफ नदिने हो भने सदन चल्न नसक्ने भन्दै अवरोध जारी रहने चेतावनी दिएका थिए ।

‘हामीले समय माग्यौं, समय नपाएपछि उभिनुप¥यो । कांग्रेसलाई आफै अफ्ठ्यारो भएको छ’, खाँणले भने, ‘हामी सभामुखको गरिमा उच्च रहोस् भन्ने पक्षमा छौं, प्रश्न गर्दा मन्त्रीहरू किन जवाफ दिन चाहनुहुन्न ?’

खाँणले संसदका गतिविधि व्यवस्थापन गर्न गम्भीर बन्नुपर्ने समेत बताए ।

‘नियमावली र प्रक्रियालाई कार्यान्वयन नगर्ने हो भने उभिइरहनुपर्ने अवस्था नआओस् भन्ने हाम्रो चाहना हो’, खाँणले भने, ‘सरकार सदनप्रति उत्तरदायी हुनुपर्छ, यो पुरानो अभ्यास र परम्परा पनि हो । यसअघि सोधिएका प्रश्नको पनि जवाफ आएको छैन ।’

संसद्मा उठेका प्रश्नको जवाफ दिनु सरकारको दायित्व भएको उनको भनाइ छ ।

प्रतिनिधिसभा नियमावली, २०७५, को नियम २१९ मा सभामुखको अनुमति लिई विषयबस्तुमा आधारित रही प्रश्न गर्न सकिने व्यवस्था छ ।

सभामुख कृष्णबहादुर महराले प्रधानमन्त्रीको आदेशमा प्रश्न गर्न नदिएको कांग्रेस सांसदहरूको आरोप छ ।
लालको प्रतिवेदन सार्वजनिक होस्

यसैबीच, राष्ट्रिय जनता पार्टी नेपाल (राजपा)ले थारु आन्दोलनको छानविन गर्न सर्वोच्च अदालतका पूर्वन्यायाधीश गिरिसचन्द्र लाल संयोजकत्वको आयोगले बनाएको प्रतिवेदन सार्वजनिक गर्न माग गरेको छ ।

राजपाका सांसदहरू उभिएर समय माग गर्दै थारु आन्दोलनको प्रतिवेदन सार्वजनिक गर्न माग गरेका थिए ।

Published : Wednesday, 2019 January 9, 1:57 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया