यो हो चोरीका राँगाभैँसीको मासु बेच्ने चिनियाँ कम्पनी

वीरगञ्ज । चोरीका राँगाभैँसी किनेर वीरगञ्जको हिरो बफ मिट सप्लायर्सले मासु निर्यात गर्ने गरेको खुलासा भएको छ ।

मासु उत्पादन उद्योगले चोरीका राँगाभैंसी किनेर मासु निर्यात गर्दै आएको फेला परेको छ । वीरगञ्ज महानगरपालिका–१८ भवानीपुर सौराहास्थित मासु उत्पादक बफ मिट सप्लायर्सले किसानका घरगोठबाट चोरिएका राँगाभैंसीको मासु निर्यात गरिरहेको भेटिएको छ ।

मुसौलीका किसान रामायण यादवको एउटा भैंसी गत सोमबार राति चोरी भएको थियो । यादवको गोठबाट चोरिएको भैंसी मिट सप्लायर्सको वधशालामा काटेर मासु प्याकिङ गर्दै गरेको अवस्थामा मंगलबार बिहान फेला परेपछि उद्योगको कर्तुत बाहिर आएको छ ।

केही स्थानीयको सहयोगमा मंगलबार बिहान उद्योगमा पुगेको प्रहरीले चोरीको भैंसी काटेर मासु तयार गरिरहेको फेला पारेको थियो ।

राँगाभैंसी चोरेर उद्योगमा पुर्‍याउने र काटेर मासु तयार पार्नमा संलग्न ८ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ सबैलाई वडा प्रहरी कार्यालय श्रीपुरमा मंगलबार दिनभरि राखिएको थियो । प्रहरीले ८ मध्ये ५ जनालाई मंगलबार बेलुकी नै छाडिदिएको छ ।

दशकयता सञ्चालनमा रहेको हिरो बफ मिट सप्लायर्समा चिनियाँ व्यापारीको लगानी रहेको छ ।

चार महिनायता भने अर्का चिनियाँ व्यापारी छिआओ हेङबाओ सञ्चालक रहेको मोक्तान बफ इन्टरप्राइजेजले लिजमा लिएर उद्योग चलाइरहेको छ ।

हिरो बफ मिट सप्लायर्स उद्योग सञ्चालन गर्दै आएको मोक्तान बफ इन्टरप्राइजेजका सञ्चालक चिनियाँ व्यापारी हेङबाओले भने कर तिरेको रसिद वा स्थानीय तहको सिफारिस पुर्जी लिएर आउने राँगाभैंसी मात्र उद्योग भित्र छिर्न दिने गरिएको बताएका छन् ।

Published : Thursday, 2019 January 10, 12:10 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया