प्रदेश ५ सरकारले घोटाला गरेर किनेको गाडी कांग्रेसका सांसदले फिर्ता गरिदिए

बुटवल । नेपाली कांग्रेसका सांसद एवम् प्रदेश ५ को प्रदेश सभाको सार्वजनिक लेखा समितिका सभापति डिल्लीबहादुर चौधरीले सरकारी गाडी फिर्ता गरिदिएका छन् ।

गाडी खरिदमा प्रदेशको कम्युनिस्ट सरकारले भ्रष्टाचार गरेको समाचार आएपछि कांग्रेसका सांसद चौधरीले गाडी फिर्ता गरेका हुन् । चौधरीले घोटाला गरेर सरकारी गाडी किनेको भन्दै फिर्ता गरेपछि प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेललाई तनाव बढेको छ ।

गाडी बजार मूल्यभन्दा महंगोमा खरिद गरी आर्थिक अनियमितता गरेको भन्दै लेखा समितिका सभापति चौधरीले आफू चढ्दै आएको गाडी शुक्रबार फिर्ता गरेको जानकारी दिए ।

सभापति चौधरीले शुक्रबार कार्यालय समयमा सचिवालयका जिन्सी शाखा प्रमुख कृष्ण गौतमलाई आफूले प्रयोग गर्दै आएको लु १ झ ४४१ नं. को गाडीको चाबी फिर्ता गरेका हुन् ।

प्रदेशसभा सचिवालयले विभिन्न समितिका सभापति, दलका मुख्य सचेतक, प्रदेशसभा सचिवलगायतलाई भन्दै हालै १३ वटा गाडी खरिद गरेको थियो । ती गाडीहरुमा लाखौँ रुपियाँ घोटाला भएको आरोप छ ।

सार्वजनिक लेखा समितिले खरिद गरिएका सबै गाडीहरुको फाईल झिकाएर छानबिन शुरू गरेको छ ।

समितिको शुक्रबार बसेको बैठकमा गाडीको विषयमा बाहिर आएका समाचारप्रति गम्भीर ध्यानकर्षण भएको जनाएको छ ।

महँगोमा खरिद गरिएका सबै गाडीको कागजातको प्रारम्भिक अध्ययनको लागि समितिका सदस्य कुलप्रसाद पोखरेलको संयोजकत्वमा उपसमिति गठन गरेको छ ।

उपसमितिमा बैजनाथ जयसवाल र कल्पना पाण्डे सदस्य छन् । संयोजक पोखरेल नेकपाका सांसद हुन् भने पाण्डे राष्ट्रिय जनता पार्टी र जयसवाल नेपाली कांग्रेसका सांसद हुन् ।

उपसमिति बैठकले गाडीको कागजातको प्रारम्भीक अध्ययन गरी आगामी माघ ४ गते बस्ने सार्वजनिक लेखा समितिको बैठकमा प्रतिवेदन पेश गर्ने समितिका सभापति चौधरीले जानकारी दिएका छन् ।

Published : Friday, 2019 January 11, 6:57 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया