पूर्वएमालेका यी ठूला कमरेडले दाङमा मच्चाए ठूलै काण्ड, पार्टी कार्यालयमा हँगामा

घोराही । पूर्वएमाले निकटको युवा संघ नेपालका प्रदेश नं. ५ का संयोजक मनोहर बुढाथोकीले प्रहरी र अदालतमा मुद्धा मिलाई दिन्छु भन्दै घुस मागेको खुलासा भएको छ ।

बुढाथोकीले एकजना महिलासँग लाखौं रकम घुस खाएको आरोप लागेको छ । बबई गाउँपालिका वडा नम्बर ५ हापुरे निवासी देवी पुनले पूर्वएमाले दाङका जिल्ला सचिवालय सदस्य समेत रहेका बुढाथोकीमाथि त्यस्तो आरोप लगाएकी हुन् ।

पुनका छोरा तथा ट्रक चालक बासुदेव पुनमाथि लागेको करणी मुद्दा मिलाइदिने भन्दै युवा नेता बुढाथोकीले दश लाख सात हजार रुपियाँ घुसवापत लगेको पुनले आरोप लगाएकी छिन् ।

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को पार्टी कार्यालय घोराही दाङमा बिहीवार पुनले उक्त आसय सहितको ‘न्याय दिलाई पाउँ’ भन्ने निवेदन दिएकी छन् ।

देवी पुनले निवदेनमा आफूपनि नेकपाकै कार्यकर्ता भएको उल्लेख गरेकी छिन् । पुनले आफ्नो छोरा बासुदेव पुन हालसम्म तौलिहवा कारागारमै रहेको जानकारी दिएकी छिन् ।

बासुदेव पुन ०७४ साल माघ २३ गते पक्राउ परेका हुन् । युवा संघ नेपालका नेता मनोहर बुढाथोकीले ‘तपाईको छोरा निर्दोश छ, छुट्छ भन्दै देवी पुनलाई आफैले फोन सम्पर्क गरेर रकम मागे’को निवदेनमा उल्लेख छ ।

‘प्रहरी र वकिललाई घुस खुवाउन पैसा दिनुपर्छ भन्नु भयो’, नेकपाकी कार्यकर्ता एवम् पीडित देवी पुनले भनिन्, ‘मैले पटक–पटक गरी उहाँलाई दश लाख ७ हजार रुपियाँ ऋण लिएर दिएकी हुँ ।’

पीडित देवी पुनले दिएको निवेदनमा पनि उक्त कुरा उल्लेख गरेकी छिन् । मनोहर बुढाथोकीलाई घुसवापतको रकम दिएको एक वर्ष पुग्दा पनि छोरो जेलबाट नछुटेपछि पीडित देवी पुनले नेकपाको पार्टी कार्यालयमा दश लाख घुसवापतको रकम फिर्ता माग गरेर उजुरी दिएकी हुन् ।

‘दश लाखभन्दा धेरै रकम मनोहर बुढोथोकीले खाइदिए’, पीडित देवी पुनले भनेकी छिन्, ‘छोरो पनि जेलबाट छुटेन ।’ देवीले मनोहरका कारण परिवारभित्र किचलो बढेको तथा ऋणले समस्या भएपछि बाध्य भएर नेकपाको पार्टी कार्यालयमा न्याय माग्न आएको बताएकी छिन् ।

नेकपाका नेता तथा युवा संघका प्रदेश ५ का संयोजक मनोहर बुढाथोकीले दश लाखभन्दा धेरै रकम घुस खाइदिएपछि आफूले झण्डै आत्महत्या गर्ने अवस्थामा पुगेको बताएकी छिन् । पीडित देवीले आफूलाई न्याय दिन नेकपाका नेताहरूसँग निवेदनमार्फत आग्रह गरेकी छिन् ।

पीडित देवी पुनले मनोहर बुढाथोकीले आफूसँग लगेको घुसको दश लाख रकम फिर्ता गराइदिन माग गरेकी छिन् ।

दाङको घोराहीस्थित नेकपाको पार्टी कार्यालय पुगेर पीडित देवी पुनले पूर्वएमालेका दाङ जिल्ला अध्यक्ष एवं नेकपा प्रदेश ५ का सदस्य टीकाराम खड्का र पूर्वमाओवादीका जिल्ला सचिव एवं नेकपा प्रदेश ५ का सदस्य रामजी चौधरीलाई सम्वोधन गर्दै न्यायका लागि निवेदन दिएकी छिन् ।

यसैबीच, मनोहर बुढाथोकीले देवी पुनले आफूमाथि गलत आरोप लगाएको दाबी गरेका छन् । केही अनलाइनहरूसँगको कुराकानीमा बुढाथोकीले दश लाख घुस लिएको कुरा प्रमाणित गर्न चुनौती दिएका छन् ।

देवी पुनको छोरो जेलबाट छुटाइदिन्छु भनेर देवी पुनसँग दश लाख रुपियाँ घुस लैजाने आरोपित मनोहर बुढाथोकी प्रदेश ५ का मुख्यमन्त्री एवम् नेकपाका स्थायी समिति सदस्य शंकर पोखरेलका खास नेता मानिन्छन् ।

मुख्यमन्त्री पोखरलकै गुटमा रहेर मनोहर बुढाथोकीले दाङमा आतंक मच्चाएको पीडितहरूको आरोप छ । मुख्यमन्त्री पोखरेलकै नाम लिएर दाङमा प्रहरी प्रशासनमा मनोहर बुढाथोकीले धाकधम्की दिँदै आएको जनाइएको छ । (समाचार र तस्वीरहरू फरककोणको सहयोगमा तयारी गरिएको छ)

Published : Friday, 2019 January 11, 10:16 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया