ओलीद्वारा रामचन्द्रलाई अपमान, सिंहदरबारमा आकस्मिक पत्रकार सम्मेलन

काठमाडौं । नेपाली कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले कम्युनिस्ट सरकारले तनहुँको ‘गिरिजाप्रसाद कोइराला स्वास्प्रश्वास अस्पताल’ र बाँकेको ‘सुशील कोइराला क्यान्सर अस्पताल’लाई खारेज नगर्न चेतावनी दिएका छन् ।

पौडेलले सरकारले दुवै अस्पताल खारेज गर्ने अन्तिम तयारी गरेको भन्दै आपत्ति जनाए । सोमबार सिंहदरवारमा आकस्मिक पत्रकार सम्मेलन गरेर पौडेलले सरकारले निर्णय नसच्चाए कांग्रेसले सदन र सडकमार्फत आन्दोलन चर्काउने चेतावनी दिएका छन् ।

‘स्वास्थ्य मन्त्रालयले दुवै अस्पताल खारेज गर्ने तयारी गरेको छ । यो निर्णयलाई सरकारले पुनर्विचार गरोस्’, उनले भने, ‘यो नेपाली कांग्रेसको अस्तित्वमाथिको प्रहार हो ।’

यस विषयमा ध्यानाकर्षण गराउन आफू प्रधानमन्त्री केपी ओलीलाई भेट्न बालुवाटार पुगेपनि समयनै नदिएको पौडेलले बताए । ओलीले भेट्न नमानेपछि आफू त्यसै फर्कनुपरेको उनले बताए ।

‘भोली नै हामी प्रधानमन्त्रीलाई भेटेर ध्यानाकार्षण गराउँछौ’, वरिष्ठ नेता पौडेलले भने, ‘यदि सरकारले गम्भीरतापूर्वक लिएन भने कांग्रेसले सडकदेखि सदनसम्म कठोर रुपमा प्रस्तुत हुन बाध्य हुन्छ ।’

प्रधानमन्त्री ओलीको कार्यशैलीको पौडेलले आलोचना गरेका छन् । प्रमुख विपक्षी दल नेपाली कांग्रेसको दोस्रो वरीयताको नेताले भेट्न खोज्दा ओलीबाट भएको व्यवहारले पौडेलले चित्त दुखाएका छन् ।

पौडेलले कम्युनिस्ट वर्तमान सरकार सुशासन, शान्ति सुरक्षा र विकासको उल्टो बाटोमा लागेको लागेको भन्दै अस्पताल खारेज गर्न खोज्नु त्यसको एक उदाहरण भएको दावी गरेका छन् ।

पौडेलले वाइडबडी प्रकरणमा सभापति देउवाले आफ्नो संलग्नता नरहेको बताइसकेको भन्दै यसको छानविनमा जोसुकै दोषी भएपनि कारवाही हुनुपर्ने उल्लेख गरे । ‘सभापतिजीले मेरो संलग्नता छैन भन्नुभएको छ’, उनले भने, ‘छानविन गरेपछि के हो थाहा हुन्छ । अहिले आरोप लगाउनु हुँदैन ।’

वरिष्ठ नेता पौडेलले नेविसंघ अन्योलग्रस्त अवस्थामा रहेको भन्दै माघ १० गतेभित्र बैठक बसेर अधिवेशन सुनिश्चित गर्ने प्रतिवेदन दिन नेविसंघको कार्यसमितिलाई निर्देशन दिएका छन् ।

सरकारले गोविन्द केसीका मागलाई गम्भिरतापूर्वक नलिएको भन्दै उनले बहुमतका आधारमा चिकित्सा शिक्षा विधेयक समितिबाट पास गरेर गलत गरेको बताए ।

‘कम्युनिष्टलाई समाजवादको बाटो डा.गोविन्द केसीले देखाएका थिए’, उनले भने, ‘त्यो बाटो छोडेर अन्यत्र जानु देशका लागि दूर्भाग्य हो ।’

Published : Monday, 2019 January 14, 6:33 pm

1 प्रतिकृया प्राप्त “ओलीद्वारा रामचन्द्रलाई अपमान, सिंहदरबारमा आकस्मिक पत्रकार सम्मेलन”

  • यसरी बहुमतकाे अाडमा मनपरि गर्ने काम राम्राे हाेइन।यस्ताे किर्याकलाप राेक्न कडारुपमा अान्दाेलन गर्नुपर्छ।

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया