भ्रष्टाचार आरोपी यी ठूला ठेकेदारलाई ग्लोबल आईएमई बैंकले जेल जानबाट बचायो

काठमाडौं । चार करोड धरौटी बुझाएर पूर्वमन्त्री एवम् राप्रपाका नेता बिक्रम पाण्डे जेल जानबाट जोगिएका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिक्टा सिञ्चाइँ आयोजनामा भ्रष्टाचार गरेको अभियोगमा विशेष अदालतमा दायर गरेको भ्रष्टाचार मुद्दामा पूर्वमन्त्री पाण्डे ४ धरौटी बुझाएर रिहा भएका हुन् ।

अख्तियारको फरारको सूचीमा रहेका पाण्डे बुधबार विशेष अदालतमा उपस्थित भएका थिए ।

बुधबार नै अदालतका अध्यक्ष बाबुराम रेग्मी, न्यायाधीशद्वय चण्डीराज ढकाल र नारायणप्रसाद पोखरेलको संयुक्त इजलासले ४ करोड धरौटी माग्ने निर्णय गरेको थियो ।

पाण्डेले बुधबार रकम नबुझाए पनि ग्लोबल आईएमई बैंक ग्यारेन्टी बसेपछि उनी धरौटीमा छुटेका हुन् ।

अख्तियारको फरार सूचीमा रहेका पाण्डेलाई विशेष अदालतले हाजिर हुन १५ दिनको म्याद जारी गरेको थियो । पाण्डे म्यादभित्रै अदालतमा हाजिर भएका थिए ।

सिक्टा सिँचाइ आयोजनामा गुणस्तरहीन काम भएको ठहर गर्दै अख्तियारले गत मंसिर २१ गते पाण्डे र उनको कालिका कन्स्ट्रक्सनविरुद्ध मुद्दा दायर गरेको थियो ।

अख्तियारले पाण्डेलाई दुई वर्ष कैद सजाय माग गर्दै विशेष अदालतमा भ्रष्टाचार मुद्धा दायर गरेको थियो । आयोगले पाण्डेसँग दुई अर्ब १३ करोड ७६ लाख ८० हजार विगो माग गरेको छ ।

पाण्डे प्रमुख रहेको सिटिसिई कालिका कन्ट्रक्शन जेभीले सिक्टा सिचाई आयोजनाको ४५ मध्ये ४२ किलोमिटर नहर निर्माणको ठेक्का ६ अर्ब रुपैयाँमा लिएको थियो । नहर निर्माणमा गरिएको लगानी शून्य अवस्थामा पुगेको अख्तियारको ठहर छ ।

प्रतिनिधि सभा निर्वाचनमा राप्रपाका नेता समेत रहेका पूर्वमन्त्री पाण्डे चितवनमा तत्कालीन माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग प्रतिस्पर्धा गरेका थिए । पाण्डेलाई प्रचण्डले पराजित गरिदिएका थिए ।

Published : Wednesday, 2019 January 16, 6:58 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया