पूर्वएमालेबाट विजयी उपमेयरको चर्तिकलाले जनता दिक्क

धरान । धरान उपमहानगरपालिकाकी उपमेयर मञ्जु भण्डारी तीस जनाको जम्बो टोलीको नेतृत्व गरेर भारत भ्रमणमा निस्किएकी छिन् ।

तत्कालीन एमालेबाट उपमेयरमा निर्वाचित भण्डारीले आफूखुसी निर्णय गर्दै आएकी छिन् । मेर तारा सुब्बाको निधन भएपछि भण्डारीले कार्यबाहक मेयरको जिम्मेवारी सम्हाल्दै आएकी छिन् ।

स्थानीय निर्वाचनबाट विकासको आस गरेका धरानवासी जनप्रतिनिधिको काम देखेर वाक्क छन् । अधिकांश जनप्रतिनिधिहरू विदेश घुम्ने तथा विलासी काममा मात्रै ध्यान दिने गरेको आरोप लागेको छ ।

धरानको विकासमा उपमेयर भण्डारीको ध्यान जान नसकेको स्थानीयले गुनासो गरेका छन् ।

भण्डारी आफ्ना मान्छेलाई लिएर विदेश पटक–पटक विदेश घुम्न जाने गरेकी छिन् । उनको तीव्र आलोचना हुने गरेको छ ।

बुधबार कार्यवाहक भण्डारीकै नेतृत्वमा ३० जनाको जम्बो टोली तीनदिने भारत भ्रमणमा निस्किएको छ ।

भ्रमणबापत उपमहानगरको लेखाशाखाबाट वरिष्ठ प्रशासकीय अधिकृत खगेन्द्र खतिवडाले तीन लाख ४० हजार रुपियाँ निकालेका छन् ।

उपमहानगरले ३० जनाको टोलीलाई उक्त रकम लेखा शाखाले उपलब्ध गराएको लेखाअधिकृत भेषराज अधिकारीले बताएका छन् ।

भण्डारीको नेतृत्वमा १२ जना कलाकार, उपमहानगरका कर्मचारी र केही यातायात व्यवसायी सिक्किम घुम्न गएका हुन् ।

केही दिनअघि मात्र उपमेयर भण्डारी हङकङ भ्रमणमा त्यसतर्फ गएकी थिइन् ।

सिक्किम घुम्न गएको विषयमा भने कुनै औपचारिक जानकारी गराइएको छैन ।

भ्रमण गएका मध्ये २ का वडाध्यक्ष माधवगोविन्द श्रेष्ठ, १७ का सूर्यबहादुर भट्टराई र २० का मणिराम राई पनि छन् ।

कर्मचारी र १२ जना कलाकारसहित ३० जना भ्रमण टोलीमा समावेश छन् । हङकङ भ्रमणबाट आएको सातादिनमै टोली भारत लागेको हो ।

विकासका काम अलपत्र छाडेर जनप्रतिनिधि विदेश घुम्न गएको भन्दै स्थानीयले चर्को आलोचना गरेका छन् ।

मेयरको उपनिर्वाचन गर्नुपर्ने कांग्रेस धरानका सभापति तिलक राईले बताएका छन् ।

मेयर नभएकै कारण धरानको विकास प्रभावित भएको राईको भनाइ छ। सिक्किमको गान्तोक नगरपालिकाको निमन्त्रणामा भगिनी सम्बन्ध गाँस्न र त्यहाँको स्रोत साधन अनुगमन गर्न नियमअनुसार विदेश गएको वडाध्यक्ष मणिराम राईले जानकारी दिए ।

Published : Thursday, 2019 January 17, 12:48 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया