कांग्रेसका मुख्य सचेतक खाँण बोल्दा पूर्वएमालेलाई तनाव, संसदमा हँगामा

काठमाडौं । नेपाली कांग्रेसका मुख्य सचेतक बालकृष्ण खाँण संसदमा बोल्दै गर्दा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसद खगराज अधिकारीले बखेडा झिकेका छन् ।

शुक्रबार बसेको संसदको बैठकमा ‘ढ्यापढ्यापे’ समय लिएर कांग्रेसका मुख्य सचेतक खाँणले बोल्दै गर्दा पूर्वएमाले पृष्ठभूमि भएका नेकपाका सांसद अधिकारीले आपत्ति जनाएका हुन् ।

‘यो संसद कुन नियममा चलेको छ ? मैले बुझिन’, कांग्रेसका मुख्य सचेतक खाँणले बोल्दै गरेकोमा आपत्ति जनाउँदै नेकपाका सांसद अधिकारीले भने, ‘प्रधानमन्त्रीज्यूले प्रश्नको जवाफ दिइसकेको अवस्थामा के भएको हो यो ?’

त्यसपछि सभामुख कृष्णबहादुर महराले ‘ढ्यापढ्यापे’ समयमा मुख्य सचेतक खाँणलाई बोल्न समय दिएको भनेपछि कालोनिलो हुँदै पूर्वएमाले पृष्ठभूमि भएका नेकपा सांसद अधिकारी आफ्नो सिटमा बसेका थिए ।

नेपाली कांग्रेसका सांसदहरू संसदमा बोल्न लागे भने सबैभन्दा धेरै तनाव एमाले पृष्ठभूमि भएका सांसदहरूलाई हुने गरेको छ । माओवादी पृष्ठभूमि भएका सांसदहरूले कांग्रेसप्रति असंहिष्णु व्यवहार देखाउँदैनन् ।

नेपाली कांग्रेसका सांसद अतहर कमाल मुसलमानले सत्तापक्षका सांसदहरूले बेलाबेला केहिन केही बखेडा निकाल्ने गरेको बताए । ‘कांग्रेसका सांसदहरू संसदमा बोल्न सबैभन्दा धेरै तनाव एमाले पृष्ठभूमि भएका सांसदहरूलाई हुन्छ’, उनले भने, ‘उहाँहरू आफ्नो आलोचना भएको सुन्नै चाहनु हुन्न ।’

Published : Friday, 2019 January 18, 2:23 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया