चीनद्वारा बरबर दमन, आमाहरूको मन छियाछिया भयो

न्युयोर्क । चीनको सरकार सञ्चालित शरणार्थी शिविरमा वीगुर शरणार्थीहरूमाथि ब्यापक दमन र अत्याचार भएको पाइएको छ ।

शिविरबाट बेपत्ता भएका बच्चाका आमाहरूको आँखा ओभाएको छैन ।

यस्तै एक आमा हुन म्हिरीगुल तुरसुन । उनका दुई बच्चा छन, तर त्यो भन्दा बढी उनको मथिंगलमा हराईरहेका मोहानेदको अनुहार नाचिरहेको छ । उनी भन्छिन्, ‘म मेरा यी दुई बच्चाहरुलाई भन्नेछु कि उनका दाजु मोहानेद कसरी हराए रु भन्नेछु कि चिनियाँ सरकारले उनीहरुको दाजुलाई मार्‍यो ।’

तुरसुन र उनका छोरा तिनै पीडितहरूमध्येका हुन्, जो चिनियाँ सुदुरपश्चिमी क्षेत्रमा मुस्लिम बाहुल्यता तोड्ने बेईजिङको तारोमा परे । अमेरिकाको स्टेट डिपार्टमेन्टले यो अनुमान गरेको छ कि जिनजियाङमा कम्तीमा ८ लाख देखि २० लाख नागरिकहरुलाई तथाकथित पुर्नशिक्षा केन्द्रहरूमा भयानक यातना दिइएको छ ।

तुरसुनका छोरा मोहानेद उरुम्की बाल अस्पतालमा मारिए । यसबारे तुरसुन केही बोल्न चाहन्नन । किनकी, यहाँ बोल्नु निकै खतरनाक छ । बरु उनले आफ्ना जीवित दुई बच्चाहरू ठूला भएपछि त्यो घटनाबारे बोल्ने संकल्प गरेकी छिन ।

तुरसुन परिवारमाथिको अत्याचारले के देखाउँछ भने, चीन सरकार धार्मिक र जातीय अल्पसंख्यकलाई योजनाबद्ध रुपमा दमन गरी सिध्याउन चाहन्छ । जिनजियाङको दमन यसको बलियो उदाहरण हो ।

जिनजियाङका वीगुरहरुमाथि चीनको कम्युनिष्ट सरकारले व्यापक दमन र अत्याचार गरेपछि विश्वभरबाट आलोचना भईरहेको छ । अमेरिकाका कानून व्यवसायीहरुले गत बिहिबार वीगुर ह्युमन राईट पोलिसी एक्ट संसदमा पेश गरेका छन् ।

चीनबाहिर रहेका वीगुरका परिवारिक सदस्यहरु, जो चीनमा बस्छन्, उनीहरू बेपत्ता हुने क्रम बढेको छ । परिवारका सदस्य बेपत्ता पार्ने र प्रवासमा रहेका वीगुरहरुलाई देश फर्कन दबाब दिने काम चीन सरकारले गरिरहेको छ ।

सन् २०१७ अप्रिलयता मात्रै ८ लाख जति वीगुर र कजाख मुस्लिमहरुलाई चीन सरकारले दमन, यातना र अत्याचार गरेको छ । अल्पसंख्यकहरुका लागि अहिले जिनजियाङ खुला कारागारजस्तो बनाइएको छ ।

बेइजिङ र जिनिजियाङबीच लामो र विभाजित ईतिहास छ । करिब २२ करोड अल्पसंख्यक जनसंख्याको बसोबास रहेको यो प्रान्तलाई स्वायत्त भनिएको छ, तर १ अर्ब ४० करोड जनसंख्या भएको चीनमा यो प्रान्तका नागरिकले दारुण जीवन बिताईरहेका छन ।

जिनजियाङमा आधाभन्दा कम जनसंख्या रहेको हान जाती, जो चीनको शासक जाती पनि हो, ले अल्पसंख्यकमाथि बर्बर अत्याचार गरिरहेका छन । चीनले मच्चाईरहेको जातीय सफायाको विरोधमा विगुरहरु छन्, जसमाथि चीनले उनीहरुको सांस्कृतिक र परम्परामाथि प्रतिबन्ध लगाएको छ ।

अतिवाद विरोधी कार्यक्रमका नाममा सीप विकास तालिमको नाटक मञ्चन गरिरहेको चीनले अल्पसंख्यकहरुलाई पुनर्शिक्षा केन्द्रहरुमा यातना दिइरहेको छ । स्थानीय सरकारले यसको नेतृत्व गरिरहेको छ र यो अत्याचारलाई उसले नागरिकको सुरक्षाका लागि चालिएको कदमको संज्ञा दिएको छ ।

जनवरीको शुरुवातमा पनि चिनियाँ अधिकारीहरुले यस्तो सीप विकास केन्द्रहरुमा विदेशी कुटनीतिज्ञ र पत्रकारहरुलाई प्रवेश गर्न दिएको थिएन । यी केन्द्रहरुमा अल्पसंख्यकलाई चिनियाँ भाषा, संस्कृति र संगीतको जबर्जस्त अभ्यास गराईएको रोयटर्सको रिपोर्टमा उल्लेख छ ।

म्हिरीगुल तुरसुनले आफ्ना अभिभावकहरुलाई २०१५ को मार्च १३ तारिखयता भेट्न पाएकी छैनन । यो बीचको ३ बर्ष उनका लागि दुःख र विनासकारी बनेको छ ।

जिनजियाङका अरु युवाहरू झैं म्हिरीगुल तुरसुन पनि रोजगारीका लागि ईजिप्ट पुगिन र त्यहाँबाट फर्किन् । तर उरुम्की विमानस्थलमा ओर्लने बित्तिकै उनलाई चिनियाँ अधिकारीहरुले विभिन्न प्रश्न बर्साए । ईजिप्टमा के गर्‍यौ ? कसलाई चिन्छौ ? कति वीगुरलाई चिन्छौ भनी सोधेको उनले बताईन् । त्यसपछि उनलाई चिनियाँ अधिकारीहरुले यातना दिन शुरु गरे र उनका ३ जना बच्चाहरुलाई सँगै लिएर गए ।

यातनागृहबाट ३ महिनापछि म्हिरीगुल तुरसुनलाई रिहा गरियो । उनी बच्चा आफ्ना बच्चाको खोजीमा लागिन् । उरुम्की बाल अस्पतालका डाक्टरले उनको छोरा मोहानेदको मृत्यु भएको बताईदिए । कुनै शल्यक्रिया गर्दा उनको १ बर्षभन्दा कम उमेरको छोरा मरेको डाक्टरको जवाफ अति पीडादायी र आश्चर्यजनक थियो । यो सन् २०१५ को घटना थियो ।

बच्चा मर्नुको कारणबारे चिनियाँ अधिकारीहरुले अझैसम्म उनलाई कुनै जवाफ दिएका छैनन् । अहिलेसम्म चिनियाँ अधिकारीहरुले उनलाई निगरानी गर्न छाडेका छैनन र चीन नछाड्न दबाब दिईरहेका छन ।

सन् २०१७ को अप्रिलमा उनी उरुम्कीबाट ११८४ किलोमिटर दुरी छिचोलेर आफ्ना अभिभावककहाँ गएकी थिईन । तर सरकारी मानिसहरुले उनलाई फेरि बच्चा खोसेर यातनागृहमा राखे ।

जब उनलाई त्यहाँबाट जिनजियाङस्थित शिविरमा ल्याईयो, जहाँ उनलाई स्थानीय ५० भन्दा बढी महिला कोचेको सेलमा राखियो । त्यहाँ राखिएकामध्ये केही उनका डाक्टर, शिक्षक र छिमेकी पनि थिए । सो शिविरमा उनले देख्दादेख्दै ९ जना बन्दीहरुको सेलभित्रै मृत्यु भयो ।

६२ वर्षीय गुलसन नाम गरेकी महिला, जो ६ महिनादेखि सो केन्द्रमा बन्दी बनाईएकी थिईन । उनी एकदिन उठिनन् र प्रहरीले उनलाई उठाउन आदेश दिए, तर उनको शरिर चिसिईसकेको थियो ।

दुई बच्चाकी २३ वर्षीय एक आमा पनि १३ महिनादेखि त्यहाँ बन्दी थिईन । उनलाई लगातार दुई महिनादेखि महिनावारीको रगत रोकिएको थिएन ।

बन्दीगृहमा उभिएकै अवस्थामा उनको मृत्यु भयो । उनको शरिरलाई नछुन प्रहरीहरुले उर्दी जारी गरे र खुट्टामा समातेर घिसार्दै सेलबाट बाहिर लगे ।

सीप विकास र पुनर्शिक्षाका नाममा चीनले जिनजियाङका जस्ता यातनागृहहरु खेलेका छन्, ती केन्द्रहरु शिक्षाका नाममा प्रोपोगाण्डा मच्चाई वीगुर र अल्पसंख्यकहरुलाई मार्ने मृत्युकक्ष बनिरहेको छ ।

२१ वर्षका अरफात एरिकेनकी आमालाई पनि चिनियाँ अधिकारीहरुले शिक्षा दिने भन्दै यातनागृहमा लगे । तर उनकी आमा गणित विषयकी शिक्षिका हुन् । एरिकने भन्छन्, ‘मलाई थाहा छैन, उनलाई कस्तो किसिमको शिक्षा आवश्यक थियो र के दिइँदैछ ।’ अमेरिकामा पढ्दै गरेका एरिकेनलाई अभिभावक बेपत्ता बनाएर पढाई छाड्न बाध्य पारियो ।

यतिसम्म कि उनका बाबुआमालाई उनीसँग सम्पर्क गर्न पनि दिईएन । किनकी, चीनबाट बाहिर सम्पर्क गर्नु ज्यान गुमाउनु सरह हो ।

(सीएनएनका लागि इमान वाट्सन र बेन वेस्टकोटको रिपोर्ट)

Published : Sunday, 2019 January 20, 12:47 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया