डा.केसीविरुद्ध अनसन बस्ने विजय थापाको यस्तो छ विगतको विवादित रहस्य

काठमाडौं । डा.गोविन्द केसीका विरुद्ध अनसनमा उत्रिएका विजय थापा विभिन्न विवादास्पद गतिविधिमा संलग्न रहँदै आएको रहस्य खुलेको छ ।

मेडिकल माफियाको आरोप लागेका झापाको बी एण्ड सी मेडिकल कलेजका मालिक दुर्गा प्रसाइँसँग निकट रहेका चैतन्यप्रकाश मैनालीका खास व्यक्ति थापा रहेको खुलेको छ ।

डा.केसीविरुद्ध इलाममा अनसन बसेका थापालाई दुर्गा प्रसाइँ निकट मानिने मैनालीले इलाममा गोप्य रुपमा भेटेका थिए ।

मैनालीले पनि डा.गोविन्द केसीविरुद्ध दुर्गा प्रसाइँको उक्साहटमा अनसन बसेका थिए ।

मेडिकल माफिया दुर्गा प्रसाइँले नै केसीविरुद्ध विजय थापालाई खडा गरेको आरोप छ । त्यसबारे जिज्ञासा राख्दा बी एण्ड सीका सञ्चालक दुर्गा प्रसाइँले पत्रकारहरुलाई गाली गलौज गर्दै धम्की दिए ।

प्रसाईको रवैयाले थापा कसैको ‘इन्ट्रेस्ट’मा अनसन बसेको आशंकालाई थप बल र्पुयायो । स्मरणीय के छ भने चैतन्यप्रकाश मैनाली तिनै हुन्, जो कुनै समय बी एण्ड सी मेडिकल कलेजले सम्बन्धन पाउनुपर्छ भन्दै आमरण अनसन बसेका थिए ।

मेडिकल केलज सञ्चालन गर्न चाहनेहरुले साम, दाम, दण्ड, भेद प्रयोग गरेर सम्बन्धन हत्याउन खोज्नु वा कसैलाई अनसन बसाउनु अस्वभाविक होइन ।

कम्युनिस्ट सरकारले देशमा धेरै जना अनसनकारी छन् भन्ने पारेर डा. केसीको सत्याग्रहलाई निस्तेज पार्न चाहेको हुन सक्छ । थापालाई डा. केसी भर्ना गरिएको शिक्षण अस्पतालमै लैजानुले पनि सरकारको नियतमा शंका उब्जाएको छ ।

आफूसँग गरिएको सम्झौता कार्यान्वयन गर्न माग गर्दै पुस २५ मा प्रा.डा. गोविन्द केसीले इलाममा १६ औँ अनशन सुरु गरेका थिए ।

त्यसको तेस्रो दिन फरक माग लिएर विजय थापाले पनि अनशन सुरु गरेका छन् । ‘निःशुल्क स्वास्थ्य, शिक्षा र रोजगारका निम्ति संयुक्त संघर्ष समिति’ नाम दिएर बसेको अनशनका क्रममा निकालिएको विज्ञप्तिमा थापालाई ‘सामाजिक अभियन्ता एवं विद्यार्थी’ भनेर चिनाइएको छ ।

पुस २७ गते इलाम चोक बजारस्थित लाँकुरी चौतारामा उनी अनशन बसेका थिए । संसदीय समितिमार्फत पारित राष्ट्रिय चिकित्सा शिक्षा विधेयक कार्यान्वयन गर्नेसहित नौ बुँदे माग राखेर थापाले अनशन थालेका हुन् ।

थापाले अनशन थाल्दा माग पूरा नहुन्जेल आफ्नो आन्दोलन जारी हुने बताएका थिए । राजधानीबाहिर निजी मेडिकल कलेज खोल्न पाउनुपर्नेलगायत उनका माग छन् ।

उनका मागमा एमडी तथा पीजी कक्षाको कोटा कम्तीमा १ हजार ५ सय पु¥याउनुपर्ने, सरकारी तलब खाएर राजनीति गर्ने कर्मचारीलाई बर्खास्त गर्नुपर्नेलगायत छन् ।

अनशन सुरु हुनुअघि जारी विज्ञप्तिमा गत वर्षको वैशाख १३ देखि काठमाडौँको खुलामञ्चमा थापाले ५३ दिन सत्याग्रह गरेको उल्लेख छ ।

डा. केसीका पक्षमा बजारमा दिनहुँ प्रदर्शन हुँदा थापाका समर्थकले पनि प्रदर्शन गरे । प्रदर्शनका क्रममा भएको कोणसभामा नेकपा सम्बद्ध विद्यार्थी सङ्गठन अनेरास्ववियुका स्थानीय नेताले थापाका माग जायज भएको भन्दै मन्तव्य दिएका थिए ।

केसीको स्वास्थ्य अवस्था कमजोर भएपछि हेलिप्टरबाट बिहीबार राति काठमाडौं लगिएको थियो । इलामबाट उनलाई एम्बुलेन्समा झापाको भद्रपुर लगिएको थियो ।

त्यसको आधा घण्टामा थापालाई पनि एम्बुलेन्सबाटै झापा लगियो । थापालाई झापाबाट शुक्रवार हेलिकप्टरबाटै काठमाडौं लगिएको थियो । दुवैको काठमाडौंमा उपचार भइरहेको छ ।

डा. केसीविरुद्ध अनशन बसेर चर्चामा आएका विजयको पुरानो ठेगाना सुनकोशी गाउँपालिका ३, ओखलढुङ्गाको सिस्नेरीस्थित डाँडागाउँ हो । तेजबहादुर थापाका जेठा छोरा विजय डाँडागाउँमै जन्मिएका हुन् । उनका बुबा नेपाली सेनाका पूर्वजमदार हुन् ।

उनीहरू २०५८ सालतिर उदयपुरको कटारी बसाइँ सरे । विजयले एसएलसीसम्म कटारीमै अध्ययन गरे । स्कुले जीवनमै विभिन्न समूह बनाएर विद्यालयमा आन्दोलन गरेपछि उनी सानै उमेरमा कटारी क्षेत्रमा परिचित थिए ।

पछि चुरेभावर राष्ट्रिय पार्टीमा आबद्ध भए । चुरे भावरमा आबद्ध हुँदासमेत उनी विभिन्न घटनामा संलग्न भएको आरोप लागेको थियो ।

उनको परिवार कटारी बजारको घर बेचेर काठमाडौं बसाइँ सरेपछि तराई केन्द्रित भए । जनकपुर, सर्लाही, सप्तरी, सिराहा र सिन्धुलीसम्म विभिन्न गतिविधि गरिरहने उनी हाल ‘रैथाने एकता परिषद्’ का संयोजक हुन् ।

तराईका रैथाने समुदायलाई छुट्टै किसिमको पहिचानको मुद्दा स्थापना गर्ने भन्दै गठित एकता परिषद्ले राजनीतिक दलकै जस्तो गतिविधि गर्दै आएको छ । उनी मिसन सिन्धुलीगढी राष्ट्रिय मोर्चामा समेत आबद्ध थिए ।

उनका समर्थक धेरैजसो युवा छन् । आफूले गतिविधि गरेका क्षेत्रमा युवालाई आकर्षित गर्ने क्षमता भएका उनको समर्थनमा उदयपुरदेखि तराईका विभिन्न जिल्लाका दर्जनौँ युवा इलाम पुगेका थिए ।

Published : Sunday, 2019 January 20, 10:04 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया