ओली–प्रचण्डले नेकपामा भित्र्याएका तीर्थराजलाई ४८ घण्टाभित्रै ठक्कर

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा प्रवेश गरेका कांग्रेसका पूर्वनेता तीर्थराज भुसाललाई परिवारले साथ नदिएपछि तनावमा परेका छन् ।

भुसाललाई काठमाडौंको धुम्बाराहीमा विशेष कार्यक्रम गरेर नेकपाका अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओली र दोस्रो तहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माला लगाएर पार्टीमा भित्र्याएका हुन् । भुसालको पार्टी परिवर्तनले उनको परिवारभित्र भने किचलो पैदा गरेको छ ।

भुसालकी पत्नी शर्मादेवी भुसाल र परिवारका सदस्यहरूले सार्वजनिक विज्ञप्ति नै जारी गरेर उनकोे नेकपा प्रवेशप्रति विरोध जनाएका छन् ।

परिवारजनमा सरसल्लाह नगरिकन निर्णय लिएको भन्दै तीर्थराज भुसाललाई नेपाली कांग्रेसमा फर्किन परिवारजनले आग्रह गरेका छन् ।

‘पारिवारिक सरसल्लाहबिना लहडका भरमा नेकपा प्रवेश गर्नु आफैंमा राजनीतिक कृतघ्नता र बेइमानी हो, जीवनभर निष्ठा र इमानको राजनीतिमा अडिएका हामी परिवारजनमाथि विश्वासघात हो’, विज्ञप्तिमा भनिएको छ, ‘आवेशमा गरिएको गलत निर्णय तत्काल सच्याइ नेपाली कांग्रेसमा फर्किन आह्वान गर्दछौं ।’

चितवन माडी नगरपालिका ५ निवासी तीर्थराज नेपाली कांग्रेस चितवनका कार्यवाहक सभापति, सुकुम्वासी आयोगका अध्यक्ष र निर्वाचित सांसद् समेत बनेका थिए ।

परिवारका सदस्यहरु नेपाली कांग्रेसमा अझ बढी क्रियाशील भई लाग्ने विज्ञप्तिमा उल्लेख गरिएको छ । विज्ञप्तिमा देवीसँगै दुई छोरा, भाइ, दिदी, भतिज, नाति, भान्जीलगायत १२ जनाको हस्ताक्षर छ ।

परिवारहरूको संयुक्त विज्ञप्तिले तीर्थराज भुसाललाई नेकपामा प्रवेश गरेको ४८ घण्टाभित्रै झट्का लागेको छ । तीर्थराज भुसालको कम्युनिस्ट बन्ने रहरलाई आफ्नै पत्नीले ठक्कर दिएकी छिन् । पत्नीसहित घर परिवारको विज्ञप्तिले तीर्थराज भुसाल तनावमा परेका छन् ।

 

Published : Monday, 2019 January 21, 6:39 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया