काठमाडौंमै ‘फेक इन्काउन्टर’, फसे गृहमन्त्रीका ‘प्यारा’ एसएसपी

काठमाडौं । कोठाभित्र पेस्तोलसहित पक्राउ परेका एक अभियुक्तलाई हत्कडी लगाएर गोली चलाएको घटनाले काठमाडौंका प्रहरी प्रमुख एसएसपी वसन्त लामामाथि छानविन गरी कारबाही गर्न पूर्व माओवादीका नेता र वाईसीएलले माग गरेका छन् ।

मंगलबार बेलुका काभ्रे तेमालका अविलास तामाङले प्रहरीमाथि गोली प्रहारको प्रयास गरेपछि बाध्य भएर प्रहरीले आत्मरक्षाका लागि गोली चलाएर नियन्त्रणमा लिएको काठमाडौं प्रहरी प्रमुख एसएसपी लामाले मिडियासामु बताएका थिए ।

तर, उक्त घटना झुटो रहेको र लामाले पक्राउ परिसकेका तामाङमाथि सस्तो प्रचारका लागि गोली चलाएको भन्दै काभ्रे जिल्लाका पूर्व माओवादीका नेताहरु र वाईसीएलले बुधबार गृहमन्त्री रामबहादुर थापा ‘बादल’ लाई भेटेर लामामाथि कारबाहीको माग गरेका हुन् ।

डिएसपी होविन्द्र बोगटीको कमाण्डमा गएको टोलीले बन्द कोठा भित्र रहेका अविलासलाई नियन्त्रणमा लिन गोली चलाएको थियो । यो घटनाले एक जनालाई प्रहरीको झण्डै १० जनाको टोलीले नियन्त्रणमा लिन कोठाभित्रै गोली चलाउनु पर्ने प्रहरीको दावी नै शंकास्पद र झुटो बनाएको छ ।

काभ्रे जिल्ला वाइसिएलका इन्चार्ज समेत रहेका तामाङ कुनै समय प्रहरीकै सुराकी थिए । अर्का सुराकी राम तामाङ नाम गरेका व्यक्तिको सूचनाका आधारमा डिएसपी बोगटीको टोलीले उनलाई हतियारसहित पक्राउ गरेको थियो ।

दुबै सुराकीबीच विगतदेखि नै विवाद बढ्दै गएको र एकले अर्कालाई फसाउने योजना अन्तर्गत उक्त घटना भएको भन्दै अविलासको तर्फबाट गृहमन्त्रीसामु पूर्व माओवादीका नेताहरुले घटनाको छानविन गर्न दबाब दिएका छन् । उनीहरुहरुले एसएसपी लामा, डिएसपी बोगटी र ईन्स्पेक्टर अनिल ठकुरीमाथि कारवाहीको माग गरेका छन् ।

गोली लागेका अविलासले उक्त हतियार आफ्नो नभएको र प्रहरीले जवर्जस्ती फसाएको बयान दिएका छन् । आफूलाई हत्कडी लगाएर प्रहरीले खुट्टामा गोली हानेको उनले बताएका छन् ।

तर, वाइसीएल स्रोतका अनुसार उक्त हतियार तामाङकै भएको र आइसीयूमा रहेकी आफ्नी आमाको उपचारका लागि खर्च नपुगेर उनले ५० हजारमा हतियार बेच्न खोजेका थिए । उनले उक्त हतियार जनयुद्ध कालदेखि राखे पनि उनी हतियार कारोबारी भने नभएको प्रहरी अनुसन्धानका क्रममा खुलेको छ ।

त्यसो त काममा भन्दा सस्तो प्रचारमा रमाउन चाहने एसएसपी लामाले काठमाडौं परिसरमा आउने वित्तिकै असावधानीपूर्वक बौद्धको जुवा अखडामा छापा मार्दा दुई जुवाडेको ज्यान गएको थियो ।

उक्त घटनामा पनि डिएसपी बोगटीको भूमिका शंकास्पद रहेको थियो । बोगटीको टोलीमाथि काम देखाउने नाममा पैसा असुलीमा सक्रिय हुने गरेको आरोप लाग्ने गरेको छ ।

त्यस्तै, केही महिना अघि लामाकै टोलीले सिटिसी मलको चौथो तलामा रहेको सिटिभि मोवाइल कम्पनीका किसान राईमाथि गोली चलाएको थियो । लेनदेनको विवादमा एक महिलाको पक्षमा लागेर परिसरले राईमाथि गोली चलाएको घटना पनि विवादास्पद थियो ।

गृहमन्त्री थापाको दबाबमा परिसर प्रमुख बनेका एसएसपी लामा कमाण्ड क्षमतामा कमजोर मानिन्छन् । तर, एसएसपी लामा एकपछि अर्को विवादमा तानिएपछि स्वयम् गृहमन्त्री नै उनीसँग आक्रोशित बनेको स्रोतले बतायो ।

लामालाई काठमाडौं प्रहरी प्रमुखबाट हटाउन समेत गृहमन्त्री थापामाथि दबाब बढेको छ । यूनाइटेड पोष्ट साप्ताहिकबाट साभार

Published : Thursday, 2019 January 24, 9:21 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया