तरुण दलले कम्युनिस्ट सरकारलाई हेटौँडाबाट दियो धक्का, पोखरा हिँड्यो टोली (तस्बिर)

हेटौँडा । नेपाल तरुण दलले कम्युनिस्ट सरकारविरुद्धको आफ्नो तेस्रो विरोध र्‍याली र विरोध सभा हेटौँडामा सम्पन्न गरेको छ ।

बिहीबार सयौं युवा तरुणहरु सहभागी भएको विरोध र्‍यालीमा कम्युनिस्ट सरकारका प्रधानमन्त्री खड्गप्रसाद ओली नेतृत्वको सरकारले गरेको भ्रष्टाचार, अनियमितता, अधिनायकवाद लगायतका विरुद्ध प्रदर्शन गरिएको हो । प्रदर्शनमा सहभागीहरुले कम्युनिस्ट सरकारको अधिनायकवादविरुद्ध नारावाजी गरेका थिए ।

ओली सरकारविरुद्ध भएको प्रदर्शनपछि आयोजित विरोध सभालाई तरुण दलका केन्द्रीय अध्यक्ष जितजंग बस्नेत र महासचिव भुपेन्द्रजंग शाहीसहितका नेताहरुले सम्बोधन गरेका थिए ।

सम्बोधनका क्रममा उनीहरुले ओली सरकारले अधिनायकवाद लाद्न खोजेको भन्दै विरोध गरे । कम्युनिस्ट सरकारले जनताका बीच निर्वाचनका बेला गरेको प्रतिवद्धता पूरा गर्नुको साटो उखान र टुक्का भन्दै हिँडेको भनेर तरुण दलका नेताहरुले आलोचना गरे ।

सभालाई नेपाली कांग्रेस प्रदेश नं. ३ का संसदीय दलका नेता इन्द्र बानियाँले पनि सम्बोधन गरेका थिए । उनले कम्युनिस्टहरुबाट युवा र तरुणलाई झन् ठूलो खतरा रहेको बताएका थिए ।

तरुण दलले सात वटै प्रदेशका राजधानीहरुमा प्रदेश गर्ने क्रममा बिहीबार प्रदेश ३ को राजधानी हेटौँडामा भव्य कार्यक्रम गरेको हो ।

यसअघि नेपाल तरुण दलले प्रदेश १ को राजधानी विराटनगर र प्रदेश २ को राजधानी जनकपुरधाममा कम्युनिस्ट सरकारको अधिनायकवादविरुद्ध भव्य प्रदर्शन गरिसकेको छ ।

तरुण दलले अहिलेसम्म गरेको सरकार विरोधी प्रदर्शनमा उत्साहजनक उपस्थिति रहेको महासचिव शाहीले जानकारी दिए ।

अब तरुण दलले शुक्रबार गण्डकी प्रदेशको राजधानी पोखरामा कम्युनिस्ट सरकारविरुद्ध प्रदर्शन गर्नेछ । प्रदर्शनका लागि भव्य तयारी भएको छ ।

पोखरापछि तरुण दलले प्रदेश पाँचको राजधानी बुटवलमा शनिबार, कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा आइतबार र सुदूरपश्चिमको राजधानी धनगढीमा सोमबार सरकारविरुद्धका कार्यक्रम गर्नेछ ।

 

 

Published : Thursday, 2019 January 24, 6:08 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया